इक्यान शैक्षिक मेला तयारी धमाधम

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले आयोजना गरेको छैटौं संस्करणको ‘इक्यान शैक्षिक मेला’को तयारी तीव्र बनाइएको छ । यही मंसिर २६ देखि २८ गतेसम्म पोखरा सभागृह हलमा हुने मेला सफल पार्न तयारी थालिएको इक्यान कास्की अध्यक्ष भुवन क्षेत्रीले बताए ।
यस पटकको इक्यान शैक्षिक मेला ब्रिटिस काउन्सिलको प्रस्तुतिमा हुँदै छ । क्षेत्रीले भने, ‘अन्य प्रायोजकसँग पनि सहकार्य हुने क्रम जारी छ ।’ टाइटल स्पोन्सरमा अस्ट्रेलियास्थित सिड्नी सिटी कलेज अफ म्यानेजमेन्टले साथ दिएको छ भने एसोसिएट पार्टनरमा हिमाअस एजुकेसन कन्सल्टेन्सी छ ।

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गरिएको सचिव रुद्रप्रसाद अर्यालले जानकारी दिए । क्यान कास्कीको आफ्नै व्यवस्थापनमा मेला सञ्चालन हुनेछ । विद्यार्थीलाई परामर्श प्रदान गर्न विभिन्न देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधि सहभागी हुने इक्यान कास्कीका उपाध्यक्ष तथा मेला संयोजक सन्दीप अर्यालले जानकारी दिए । मेलामा विद्यार्थीलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइने कोषाध्यक्ष ओमप्रकाश गैरेले बताए ।

इक्यान शैक्षिक मेलाका स्टल १० हजार रुपैयाँमा उपलब्ध गराइने स्टल व्यवस्थापन उपसमिति संयोजक नसीव क्षेत्रीले जानकारी दिए । ‘पेभेलियनमा सहित मेलामा ६० वटा भन्दा बढी स्टल रहन्छन्,’ उनले भने, ‘इक्यानका सदस्य संस्थालाई सस्तो दरमा स्टल उपलब्ध गराउने हाम्रो नीति हो ।’