पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको पर्यटकीय विकासलाई लक्षित गरी भरतपोखरी विकास मञ्चको टोलीले शनिबार स्याङ्जाको सिरुवारी भ्रमण गरेको छ । भ्रमणका क्रममा नेपालको पहिलो होम स्टे गाउँका रुपमा चिनिएको सिरुवारीमा भइरहेको ग्रामीण पर्यटनका विविध पक्षको अवलोकन गरिएको भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालले बताए ।
भ्रमण टोलीमा मञ्चका पदाधिकारीसहित भरतपोखरीका विभिन्न सामाजिक संघ, संस्थाका अध्यक्ष एवं प्रतिनिधि र सञ्चारकर्मीसहित ४७ जनाको सहभागिता थियो । पोखराबाट नजिक र पर्याप्त पर्यटकीय सम्भावना बोकेको भरतपोखरीको पर्यटकीय विकासका लागि सिरुवारीको अध्ययन भ्रमण महत्वपूर्ण बन्ने पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले बताए
प्रचूर सम्भावनाका बाबजुद भरतपोखरीको अपेक्षित विकास हुन नसकेको वास्तविकतामा प्रत्येक सम्भावनालाई उजागर गर्न यस किसिमका कार्यक्रम अघि बढाइएको मञ्चका महासचिव गणेशप्रसाद ढकालले बताए । भ्रमण टोलीलाई सिरुवारी होम स्टे व्यवस्थापन समितिका उपाध्यक्ष रत्नबहादुर गुरुङले त्यहाँका विविध पक्षबारे जानकारी गराए ।