पशुपति माविमा हाफ म्याराथन

पर्वतको मोदी ७ राम्जाठाँटी स्थित पशुपति माविले स्वर्ण महोत्सवको अवसरमा राष्ट्रिय स्तरको हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । विद्यालयबाट पञ्चासे तालसम्म हुने प्रतियोगिता मंसिर २० गते हुनेछ । प्रतियोगिता पशुपति माविदेखि सुरु भएर पञ्चासे तालसम्म पुगेर झण्डै २१ किलोमिटर दूरी पार गरी पशुपति माविमै पुगेर टुंगिनेछ । पशुपति माविबाट सुरु भई स्थानीय पर्यटन तथा प्रवद्र्धनको विकासमा प्रचार गरी फर्कने कार्यक्रम रहेको स्वर्ण महोत्सव मूल समारोह समिति अध्यक्ष डण्डपाणि तिमिल्सिनाले जानकारी दिए ।

विद्यालयका भूपू विद्यार्थी तथा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले उद्घाटन गर्ने कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदुत डा माज्हर जाभेदकोसमेत सहभागिता रहनेछ ।

प्रतियोगितामा प्रथम हुनेले ७५ हजार, द्वितीयले ५० हजार र तृतीयले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने मूल समारोह समितिका सचिव रमेश केसीले बताए । विद्यालयले मंसिर १८ गतेसम्म नाम दर्ता गर्ने मिति ताकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश शर्मा गौतमले बताए ।