एनप्याब्सानको खेलकुद महोत्सवमा फुटबल

निजी तथा आवासीय विद्यालयको छाता संगठन एन प्याब्सान कास्कीको खेलकुद महोत्सव अन्तर्गत शनिबार छात्र तथा छात्रा फुटबल प्रतियोगिता भएको छ । शनिबार भएको छात्र फुटबल प्रतियोगितातर्फ मर्निङ ग्लोरी, सिद्धिविनायक, कास्की मोडनाइज्ड, चिल्ड्रेन्स, एलपी देवकोटा मेमोरियल, हेमजा बोर्डिङ, युनिर्भस, गोर्खा बोर्डिङ स्कुल विजयी भएको फुटबल उपसमिति छात्रतर्फका संयोजक हिमाल गुरुङले जानकारी दिए ।

छात्रा फुटबल प्रतियोगितातर्फ कास्की मोडनाइज्ड ए, ज्ञानज्योति विद्याकुञ्ज, सनराइज प्रिपारोटरी, सिद्धिविनायक,अञ्जुली र चिल्ड्रेन्स एकेडेमी विजयी भएको फुटबल उपसमिति छात्रातर्फका संयोजक राजु केसीले जानकारी दिए ।पोखराको रंगशालामा हुने खेलकुद महोत्सव उद्घाटन नेपाल सरकारका संघीय खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले गर्ने एनप्याब्सान कास्की अध्यक्ष रामबहादुर मोचीले जानकारी दिए ।

४ दर्जन विद्यालयको सहभागिता रहने खेलकुदमा एनप्याब्सान कास्कीको संकल्प खेलकुद शिक्षाको अभिन्न अंग’ भन्ने नारा दिइएको छ । पोखरा रंगशालामा निर्माणका काम भइरहेकाले प्रारम्भिक चरणका खेल अन्य ठाउँमा खेलाइने मोचीले जानकारी दिए ।खेलकुद महोत्सवमा प्रतियोगितात्मक रुपमा फुटबल, भलिबल, टेबुलटेनिस, ह्यान्डबल, बास्केटबल तथा एथलेटिक्सका जुनियर र सिनियर तर्फका खेल हुने प्रचारप्रसार उपसमिति संयोजक प्रेमराज अधिकारीले बताए ।