मिस एण्ड मिसेस धौलागिरि प्रतियोगिता

पर्वतमा दोस्रो मिस एण्ड मिसेस धौलागिरि अर्थात दोस्रो सौन्दर्य प्रतियोगिता शुरु भएको छ ।

अभ्यास इमेन्ट प्रालि पर्वतको आयोजनामा दोस्रो सौन्दर्य प्रतियोगिताको रुपमा मिस एण्ड मिसेस धौलागिरी शुरु भएको हो । विवाहित र अविवाहित महिलाहरुबीच छुट्टाछुट्टै हुने प्रतियोगितामा साविक धौलागिरिका १२ जना महिला तथा युवतीहरुको सहभागिता रहेको छ । १६ वर्षदेखि माथिका युवतीहरुभित्र रहेको प्रतिभा प्रस्फुटन गराई उनीहरुलाई जीवनमा सहि मार्गमा लाग्न प्रेरणा दिने उद्धेश्यले प्रतियोगिता संचालन गरिएको अभ्यास इभन्ट प्रालिका प्रवन्ध निर्देशक इन्दु शर्माले बताईन ।

यस अघि पहिलो अडिसन द लुक फेसन होम पोखराले संचालन गरेको थियो । प्रतियोगितामा सहभागिहरुलाई अहिले प्रशिक्षण तथा तालिम शुरु गरिएको छ । प्रतियोगितामा अनुशासन, मुस्कान, सिर्जनात्मक क्षमता, क्रियाशिलता, व्यक्तित्व, तस्विर स्टाईल, बिचार, वाककला तथा अन्य शारिरीरिक तन्दुरुस्तता लगायत उसको आन्तरिक प्रतिभाका बारेमा प्रतिष्पर्धा गराईने कार्यक्रम संयोजक पुजा सिलवाल घिमीरेले जानकारी दिईन ।

प्रतियोगिताको अन्तिम समारोह मंसिर २९ गते हुने भएको छ । मंसिर ८ गतदेखि शुरु भएको प्रतियोगितामा अहिले सहभागिहरुलाई विभिन्न तालिमहरु दिइएको कार्यक्रम संयोजक घिमीरेले बताईन ।

प्रतियोगितामा सहभागि युवतीहरुले आफुभित्र रहेको प्रतिभा प्रस्फुटन गरी एउटा सफल नागरिकको परिचय दिन प्रतियोगितामा सहभागि भएको बताएका छन् । समाजमा यस्ता खालका प्रतियोगितालाई हेर्ने दृष्टिकोण सकारात्मक नभएकाले पनि अपेक्षित रुपमा सहभागिको संख्या हुन नसकेको आयोजकले जनाएको छ । युवती र महिलाहरुलाई यस्तो प्रतियोगितामा सहभागि गराउँदा समाजले नराम्रो दृष्टिकोणले हेर्छ भन्ने मानसिकताका कारण सहभागिको संख्या थोरै भएको प्रवन्ध निर्देशक इन्दु शर्माले बताईन ।

प्रतियोगितामा उत्कृष्ट हुनेले रु ५० हजार, दोस्रोले रु ३० हजार, तृतियले रु २० हजार र उत्कृष्ट एक प्रतियोगिलाई रु १० हजार र ट्रफि तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

आयोजकले बुधवार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो ।