जोमसोम गुम्बा नजिक भिषण आगलागी

- दुई तले घरसहित करोडौंको क्षति

मुस्ताङको घरपझोङ गाउपालिका वडा नम्बर ४ स्थित जोमसोम गुम्बा नजिक दुई तले फर्निचरसहित रहेको पक्की भवनमा मध्यरातमा भिषण आगोलागी भएको छ ।जंगलमा दाउरा खोज्न घर बाहिर निस्किएका स्थानीय लेखबहादुर गुरुङले आगोलागी देखेपछि तत्काल छिमेकीहरुलाई खबर गरेका थिए ।

थासाङ गाउपालिका लार्जुङ घर भएका स्थानीय मीनप्रसाद थकालीको जोमसोम गुम्बा नजीक भएको घरमा आगोलागी भएको हो ।जोमसोममा एक आपसमा जोडिएका घरहरु भएका कारण स्थानीयवासी संशकित भएका थिए ।आगोलागि भएको घरबाट अन्य घरमा आगो फैलिन सक्ने भएकाले वरपर भएका आगोलागी जोखिमका सामानहरु पन्छ्याउने प्रयास स्थानीयले गरेका थिए ।

यसकार्यमा स्थानीयवासी तथा स्थानीय रुटमा चलाउने सवारी चालकहरुले घरमाथि राखिएका दाउरा पन्छ्याएका थिए ।आगोलागीको खबर थाहापाए पछि स्थानीय प्रशासन र प्रहरीलाई खबर गरिएको थियो ।

आगोलागीपछि नेपाल प्रहरीका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद रेग्मीको नेतृत्वमा प्रहरी टोली बिहान ३ बजे घटनास्थलमा पुगेको थियो ।प्रहरी संगै शसस्त्र प्रहरी र नेपाली सेनाको टोली उद्दारका लागि आगोलागि भएको स्थानमा पुगेको थियो ।यस्तै प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री समेत आगोलागी स्थानमा पुग्नु भएको थियो ।

आगोलागी भएको घर विगत ८ वर्षदेखि प्रयोग विहिन अवस्था थियो ।पूरै फिनिसिङ नभएको उक्त घर भित्र काठ र घासहरु राखिएको थियो ।आगोलागीपछि त्यहा रहेको पूरै भौतिक सामानहरु नष्ट भएका छन् भने दुई तले घर समेत ध्वस्त भएको छ ।

घरमा कुनै मानिस नबस्ने भएकाले मानविय क्षति हुन भने पाएन ।तर आगोलागीपछि घरसहित त्यहाँ रहेको भौतिक सामाग्री नष्ट हुदा करौडोको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।

आगो नियन्त्रणमा लिन उद्दार टोलीलाई हम्मे हम्मे भएको थियो ।सुकेका काठ र घास सल्किदा आगोको मुस्लो छाएको थियो । उद्दार टोलीको ३ घण्टाको प्रयासपछि अहिले आगोलागी नियन्त्रणमा आएको सिडियो गंगाबहादुर क्षेत्रीले जानकारी दिए ।

आगोलागीपछि स्थानीय जनप्रतिनिधि ,जोमसोम खानेपानी उपाभोक्ता समितिले आगो नियन्त्रणका लागि जुटेका थिए ।