
यहि मंसिर २२ गते देखि २९ गते सम्म हुन लागेको महायज्ञ मन्दरेपार्कमा गर्ने निर्णय महायज्ञ मूल समारोह समितिले गरेको छ । मूल समारोह समिति अन्तर्गतको कार्यसम्पादन समितिको बुधबार बसेका बैठकले सो निर्णय गरेको हो । यस अघि बेगनासताल बाँधमा गरिने भनिएको महायज्ञ स्थानीयवासीको सहमति पछि मन्दरेपार्कमा सारिएको हो ।
महायज्ञस्थल र यस वरपर रहेका धार्मिक मठ मन्दिरहरुको मरमत सुधार , नेपाल माताको प्रतिमा स्थापना गरी धार्मिक पर्यटनको विकास , सनातन धर्म सस्कृतिको जगेर्ना गर्ने र बेगनासतालमा विभिन्न काल खण्डमा डुंगा दुर्घटना समेतमा परी दिवंगत भएका जनहरुको उद्धार समेत गर्ने उद्धेश्य ले स्थानीयवासीको पहलमा राष्ट्रिय परोपकार महासंघले महायज्ञ आयोजना गर्न लागेको हो ।
बैठकले जलमा डुवेर मृत्युवरण गरेकाहरुको पितृउध्दार आध्यात्मिक दर्शन अनुसार पानीमा नै गर्नु पर्ने भएकाले कार्यक्रमस्थल मन्धरेपार्कमा सारिएको महयज्ञ मूल समारोह समितिका अध्यक्ष डिल्लीरमण तिवारीले जानकारी दिए । उनले विभिन्न सामाजिक संघ संस्था, व्यक्ति विशेष, राजनितिक दल, सामाजिक व्यक्तित्व, धार्मिक व्यक्तित्वहरुलाइ पत्रचार गरिएको पनि बताए ।