सामाजिक अध्ययन विषयको गुणस्तर अभिबृद्धिका लागि तेस्रो रिड मोर सोसल क्वीज, हाजिरीजवाफ हुने भएको छ। सामाजिक अध्ययन मञ्च कास्कीले प्रदेश स्तरमा सामाजिक विषयको अध्ययन अध्यापनमा गुणस्तरीयता कायम गर्ने सोचका साथ शिक्षक तथा विद्यार्थी केन्द्रित कार्यक्रम अघि बढाउने जनाएको छ ।
पोखरामा मंगलवार आयोिजत पत्रकार भेटघाट कार्यक्रममा मञ्चका अध्यक्ष टेकनाथ पौडेलले मञ्च स्थापनाको नवौं वर्षमा आइपुग्दा विषयको अध्ययन अध्यापनमा गुणस्तरीयता ल्याउन समय समयमा संघ संस्थाहरुको सहकार्यमा अन्तक्रिया, गोष्ठी एवम् तालिम सञ्चालन गर्दै आएको बताए ।विषयको गुणस्तरीयता अभिबृद्धिका लागि शिक्षक एवम् विद्यार्थी दुबै लक्षित कार्यक्रम अघि बढाइएको बताउँदै अध्यक्ष पौडेलले माध्यमिक तहका कक्षा ९ र १० पढ्ने विद्यार्थीको सामाजिक अध्ययनको रुचि थप जागृत गराउन आगामी पुस ७ र ८ गते पोखरामा गण्डकी प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिए । मंचका सचिव गोबिन्द काफ्ले का अनुसार प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुने समूहलाई लाई क्रमशः २० हजार, १५ हजार र १० हजार रुपैया नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ। साथै सान्त्वना स्थान प्राप्त गर्ने टिमहरुलाई समेत ट्रफी, प्रमाणपत्र र नगद पुरस्कारको ब्यबस्था रहेको छ। विद्यालयलाई पनि ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
प्रतियोगिता संयोजक एवम् मञ्चका सल्लाहकार दिनेश अर्यालका अनुसार रिड मोर पब्लिकेशन, काठमाडौंको आर्थिक सहयोगमा हुने प्रतियोगितामा गण्डकी प्रदेश भित्रका सामूदायिक एवम् संस्थागत विद्यालयमा माध्यमिक तहमा अध्ययनरत विद्यार्थी सहभागी हुनेछन् ।प्रतियोगितामा गण्डकी प्रदेशका बिभिन्न जिल्लाबाट करिव ८० समुहको सहभागीता रहने अपेक्षा गरिएको छ भने प्रतियोगिता चार चरणमा संचालन हुने बताईएको छ ।