
अमेरिकी अन्तरिक्ष संस्था (नासा)को करिब एक अर्ब अमेरिकी डलरको “मार्स इन्साइट” अन्तरिक्ष यान पहिलोपटक मङ्गलग्रहमा अवतरण गरेको छ ।
उक्त यानमा रहेको रोबोटले मङ्गलग्रहको सतहको पहिलो तस्वीर पठाएको नासाले जनाएको छ । मार्स इन्साइटको मुख्य लक्ष्य नै रातो ग्रहका रुपमा परिचित मङ्गलग्रहको भित्री तहको रहस्य खोतल्नु, अर्बौं वर्ष पहिले यसको निर्माण कसरी भयो, र पृथ्वीको जस्तै अरु उपग्रह कसरी चट्टानी स्वरुपमा बने भन्ने थाहा पाउनु हो ।
२०३० को दशकमा मानवलाई मङ्गलग्रहमा पठाउने मार्गप्रशस्त गर्ने नासाका वैज्ञानिकको अपेक्ष
मानवरहीत यो अन्तरिक्ष यान करिब ७ महिना पहिले प्रक्षेपण गरिएको थियो । पृथ्वीको सबैभन्दा नजिकको मङ्गलग्रहमा अन्तरिक्ष यान पु¥याउने नासाको यो प्रयत्न सफल भएकामा नासाका वैज्ञानिकले खुशीयाली मनाएका छन् ।
सन् २०१२ मा क्युरिओसिटी रोभर नामको रोबोट बनेपछि वैज्ञानिकमा नयाँ आशा पलाएको थियो । यसअघि मङ्गलग्रहमा पुग्न ४३ भन्दा बढी पटक प्रयत्न गरिएको थियो । विश्वका अन्य मुलुकबाट गरिएका प्रयत्नसमेत असफल भएका थिए । नासाको यस पटकको अन्तरिक्ष यानमा रहेको रोबोटमा युरोपेली मुलुकका अनुसन्धान उपकरणसमेत जडान गरिएको छ ।
यो अभियानले सन् २०३० को दशकमा मानवलाई मङ्गलग्रहमा पठाउने मार्गप्रशस्त गर्ने नासाका वैज्ञानिकको अपेक्षा छ । नासाका एकजना प्रबन्धक थोमस जुर्बुचेनले आफूले मङ्गलग्रहको यात्रालाई सामान्यरुपमा कहिल्यै नलिएको चर्चा गर्दै यो साँच्चिकै कठिन यात्रा भएको बताए ।
मङ्गलग्रहको कक्षमा प्रवेश गर्ने, ओर्लन थाल्ने र अवतरण गर्ने चरण स्थानीय समय अनुसार बिहान ११ बजेर ४७ मिनेटमा शुरु भएको थियो । यसको सम्पूर्ण नियन्त्रण क्यानिफोर्नियास्थित पासाडेनाको जेट प्रपोल्सन प्रयोगशालाबाट भएको थियो ।
बन्दुकको गोलीभन्दा तीब्र गति अर्थात् १९ हजार ८ सय किलोमिटर प्रतिघण्टाको बेगमा रहेको यो यानलाई मङ्गलग्रहको वायुमण्डल छिचोल्न निकै कठिन हुने वैज्ञानिकको अनुमान गरेका थिए ।
वायुमण्डलसँगको घर्षणका कारण यानको बाहिरी तापमान करिब १ हजार ५ सय डिग्री सेल्सियस पुग्ने, र रेडियो सङ्केतसमेत केही समय अवरुद्ध हुने नासाको भनाइ छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सले मङ्गलग्रहको यात्रामा प्राप्त सफलताका लागि नासाका वैज्ञानिकलाई बधाइ दिएका छन् ।