नबिलका ग्राहकलाई ३ लाखको स्वास्थ्य बीमा

नबिल बैंक लिमिटेडले आफ्ना खतावालालाई विभिन्न १३ रोगको उपचारमा ३ लाख बराबरको बीमा सुविधा उपलब्ध गराउने भएको छ । सो सुविधा आइतबारदेखि लागू भएको आइतबार आयोजित कार्यक्रममा जानकारी दिइयो । बैंकका तर्फबाट नायब महाप्रबन्धक रमेशप्रसाद लोहनी र मेटलाइफ इन्स्योरेन्सका तर्फबाट प्रमुख अधिकृत रामकुमार यादवले सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त योजनालाई बैंकले ‘नबिल केयर’ नाम दिएको छ ।

बैंकले २५ हजारको व्यक्तिगत बचत खातावालालाई अर्वुद, हृदयाघात, मिर्गौला खराबी, कोमा, स्ट्रोक, मुटु भल्भ सर्जरी, हेपाटाइसिस, एप्लास्टिक एनीमिया, गम्भीर कोरोनरी धमनी रोग, उच्च रक्तचाप, प्रमुख अङ्ग एवं बोनम्यारो प्रत्यारोपणजस्ता घातक रोगको उपचारार्थ ३ लाख बराबरको बीमा गरेको हो ।ती रोगमध्ये कुनै पनि एक घातक रोग लागेको निवेदनउपर निदानसहितको आवश्यक प्रमाण पूरा भएको अवस्थामा बीमा रकम तुरुन्त भुक्तानी हुनेछ । बचतकर्ता अन्य कारणले निधन भएमा रु ७५ हजारको बीमाङ्क रकमसमेत सो योजनाले सुरक्षित गरेको छ । घातक रोग लागेर निधन भएमा रु तीन लाख ७५ हजार बरारको सुरक्षण हुनेछ । बैंकले सो आयोजनाअन्तर्गत शनिबारसम्म रु २५ हजार वा सोभन्दा बढी मौज्दात रहेका आफ्ना सम्पूर्ण व्यक्तिगत बचत खातामा आवद्ध भएकाको बीमा गरिसकिएको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जानकारी दिए ।उक्त योजनामा १६ वर्षदेखि ६४ वर्षसम्मका नागरिक सहभागी हुन सक्छन् । प्रमुख कार्यकारी अधिकृत शाहले पछिल्लो दिनमा अर्वुद्ध, कलेजो, हृदयघातजस्ता घातक रोग दिनप्रतिदिन बढ्दो क्रममा रहेको र उपचार अत्यन्त महङ्गो रहेका कारण केही सहजताका लागि यस्तो योजना ल्याइएको बताए ।

बैंकका हाल ५ लाख खातावाला छन् । ती मध्ये १६ देखि ६४ वर्षको उमेर समूहका ग्राहकको सङ्ख्या तीन लाख बढी छ । ती सबै खातावाला स्वास्थ्य बीमाको उक्त कार्यक्रममा समेटिएका छन् । बीमाका लागि आवश्यक पर्ने प्रिमियम बैंकले तिर्ने गरी व्यवस्था मिलाइएको छ ।