यातायात व्यवस्था कार्यालय (सवारी)पोखराले आर्थिक वर्ष २०७३/७४को तुलनामा गत आवमा रु ११ करोड ४९ लाख ५२ हजार ७२८ बढी राजश्व संकलन गरेको छ ।सो कार्यालयले आव ०७३/०७४ मा ७४ करोड ४४ लाख ९० हजार २७२ राजस्व संकलन गरेको थियो भने गत आर्थिक वर्षमा ८५ करोड ९४ लाख ४३ हजार राजश्व संकलन गरेको छ ।
यो कार्यालयद्वारा कास्की, स्याङ्जा, लमजुङ, तनहुँ, गोरखा र मनाङ गरी ६ जिल्लाबाट गत आर्थिक वर्षमा सबैभन्दा बढी मोटरसाइकल दर्ता भएका कार्यालयका प्रमुख अच्युतराज रेग्मीले जानकारी दिए । सोअन्तर्गत १ लाख ४० हजार ७३ वटा मोटरसाइकल दर्ता भएका छन् । यस्तै कार, जिप, भ्यान, पिकअप गरी २४ हजार ५ सय ७३, माइक्रोबस ३ हजार ९ सय २९, मिनीबस, मिनी ट्रक ४ हजार १ सय ७६, बस, ट्रक, कन्टेनर, ट्रेक्टर, टिपर र पावर टेलर गरी ६ हजार ३४, डोजर तथा लोडर, क्रेन, रोलर, ग्रेडर, एक्साभेटर गरी ८ सय २६, दमकल दुई र एम्बुलेन्स ८४ वटा दर्ता भएका छन् ।