नेपालकै शीर्ष वरियता प्राप्त खेलाडीहरु पुरुषतर्फ आरब हाडा र महिलातर्फ सलोनी तामाङले पोखरामा सम्पन्न ट्रेकर्स इन यु–१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ मा प्रथम स्थान हासिल गरेका छन् ।
पोखरा रंगशालामा शुक्रबार भएको खेलमा आरबले अकि जुवेन रावतलाई ६–३, ६–१ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान हासिल गरे । त्यस्तै सलोनीले सर्भानी श्रेष्ठमाथि ६–२, ६–१ को सहज नतिजा निकाल्दै प्रथम भइन् ।
कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको पुरुष डबल्सतर्फ आरब हाडा प्रणव मानन्धरको जोडीले प्रथम स्थान हासिल गरेको थियो भने महिला डबल्सतर्फ सलोनी तामाङ र सुभांगी लक्ष्मी शाहको जोडीले प्रथम स्थान हासिल गरेको थियो ।
प्रतियोगिताका विजयी खेलाडीहरुलाई आयोजक संघका अध्यक्ष दोर्जे तामाङ, उपाध्यक्ष लोक गुरुङ, महासचिव नवीन चालिसे तथा खेलाडीहरु विकास गुरुङ, प्रीति बराल, अभिभावकहरु गौतम उदास, सरीता भट्टराई, नवीन श्रेष्ठ लगायतले एक समारोहबीच पुरस्कार वितरण गरे ।
सोमबारदेखि सर्किट २ का खेलहरु सुरु हुने आयोजकले जनाएको छ ।