आमा समूहको सक्रियतामा सामुदायिक भवन निर्माण भएको छ । बागलुङ जिल्लाको बागलुङ नगरपालिका ८ सिगाना सायकोटस्थित सिर्जनशील आमा समूहको सक्रियतामा रकम संकलन गरी सामुदायिक भवन निर्माण गरिएको आमा समूहले बताएको छ ।
समुदायिक गतिविधि गर्न तथा आमा समूहद्वारा सञ्चालित भाँडाकुडालगायतका सामग्री राख्नको लागि सामुदायिक भवन निर्माण गरिएको हो । ‘‘हामीलाई सामुदायका हरेक क्रियाकलाप गर्दा खुला आकाशमुनि गर्नुपर्ने थियो,’ आमा समूहकी अध्यक्ष डिलकुमारी कार्कीले भनिन्, ‘व्यक्ति तथा संघ, संस्थाको सहयोगबाट भवन निर्माण सम्पन्न भएपछि समुदायलाई सहज भएको छ ।’
२ कोठा र शौचालयसहितको उक्त भवन ६ लाख लागतमा निर्माण गरिएको हो ।
भवनलाई आमा समूहको पहलमा स्थानीयवासीद्वारा संकलित २ लाख १५ हजार, जिल्ला समन्वय समितिको १ लाख, पूर्व राज्यमन्त्री चम्पादेवी खड्काको ९० हजार, सिर्जनशील आमा समूहको ५५ हजार, महिला सञ्जाल सिगानाको ३४ हजार, बुछुङ सल्लेरी सामुदायिक बनको २५ हजार, जुकेपानी सामुदायिक वनको १२ हजार ५ सय र स्थानीवासीको ५० हजार बराबरको श्रमदानमा उक्त भवन निर्माण गरिएको स्थानीय समाजसेवी रनबहादुर खड्काले जानकारी दिइन् ।