नारायण कुमारका छोराछोरी पनि हेर्दाहेर्दै जवान भए । उनले आफू खाडी मुलुकमा दु:ख गरेर भएपनी छोराछोरीको लालनपालन र शिक्षामा कुनै कमि हुन दिएका थिएनन् । उनी छुट्टीमा घर आएका थिए त्यही बखत छोराछोरी पढ्ने कलेजले रजत जयन्तीमा सबै अभिभावकहरूलाई निमन्त्रणा गर्यो।
नारायण कुमार पनि दर्शकदिर्घामा रहेर कार्यक्रम हेरेर रमाउन थाले। बिच बिचमा गायन र युगल नृत्यहरूले कार्यक्रमलाई थप रोचक बनाइरहेको थियोे । त्यसै क्रममा उनको छोरा एउटा युवती सँग युगल नृत्य लिएर प्रस्तुत भयो। उनिहरूको युगल नृत्यले सबै अभिभावकहरूको मन जितिरहेको थियो।
आडैका अभिभावकलाई आफ्नो छोरो हो भनेर चिनाउदै थिए उनी । आफ्नो छोरा यति कलात्मक तवरले नृत्य गर्छ होला भन्ने उनलाइ लागेको थिएन ।उनी भित्र भित्रै खुशीले गदगद भइरहेका देखिन्थे। उनलाइ थप खुशी तब लाग्यो जब आफ्नो छोरा यौटी राम्री युवतिसँग हात समाउँदै र कम्मर मच्चाउँदै नाचिरहेको थियो।
कार्यक्रम अब अन्तिम चरणमा पुग्दै थियो। उद्घोषकले यौटा बेजोड नृत्य कार्यक्रमको अन्ततीर प्रस्तुत गरिनेछ भनेर पहिले नै सुचित गरिसकेका थिए । अब हामी पुर्व घोषणा बमोजिम अन्तिम अनि कार्यक्रम अवधी भर कै उत्कृष्ट नृत्य यहाँहरू समक्ष पेश गर्न गइरहेका छौं ।
उनले यसो भन्दा सबै दर्शकका आँखा स्टेज तिर केन्द्रित थिए । स्टेजमा एक युगल जोडि देखा परे । उनीहरूको नृत्य बेजोड थियो। कार्यक्रममा सबैको अनुहार उज्यालो देखिन्थ्यो तर यो पालाको नृत्यले नारायण कुमारको अनुहारमा कुनै चमक थिएन । उनलाइ त्यो युवकले ती युवतिको कम्मर समाती समाती नृत्य गरिरहेको पटक्कै मन परेको थिएन ।
दर्शकले रुचाएकी ती नृत्य गर्ने युवती अरु कोहि नभएर उनकी आफ्नै छोरी थिइन् ।
माछापुच्छ्रे गापा लाहाचोक कास्की