एशियन टेनिस फेडेरेशनको यु–१४ को सर्किट १ अन्तर्गत ब्वाईज डबल्स र गल्र्स डबल्सको उपाधि नेपाली खेलाडीको पोल्टामा परेको छ ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा बिहीबार भएको फाईनलमा गल्र्स तर्फको प्रतिस्पर्धामा शीर्ष बरियताकी सलोनी तामाङ र सौभाङ्गीलक्ष्मी शाहको जोडीले नेपालकै ईशाश्री शाह र सर्भानी श्रेष्ठको जोडीलाई ६–४, ७–६ को सेटमा पराजित गर्दै उपाधि रक्षा गरेका हुन् ।

त्यसैगरी ब्वाईव डबल्स तर्फको प्रतिस्पर्धामा उमेर समूह तर्फका शीर्ष बरियताका प्रनव मानन्धर र आरब हाडाको जोडीले इभ्याक जोशी र अकिजुबेन रावतको जोडीलाई तेस्रो सेट सुपरटाईमा पराजित गर्दै उपाधि जोगाए । पहिलो सेट ४–६ ले गुमाएको हाडा र मानन्धरको जोडीले दोस्रो सेट उस्तै ६–४ ले आफनो पक्षमा पार्दै खेललाई सुपरटाईमा धकेले । सुपरटाईमा भने १०–७ ले सेट निकाल्दै उपाधि आफनो लेखाउन सफल भए ।

यु–१४ गल्र्स तर्फको उपाधिको लागि सलोनी तामाङले सर्भानी श्रेष्ठसँग प्रतिस्पर्धा गर्ने छिन् । कोर्ट नम्बर १ मा भएको सेमिफाईनलमा सलोनीले सौभाङ्गी लक्ष्मी शाहमाथि ६–२, ६–१को सोझो सेटले चुनौति पन्छाउँदै उपाधि निकट पुगेकी हुन् । उता कोर्ट नं २ मा भएको अर्को सेमिफाईनलमा सर्भानी श्रेष्ठले भारतीय खेलाडी मिल्ली चुग(४)लाई सोझै सेटमा पराजित गर्ने क्रममा ६–२, ६–३ निकालिन् ।

ब्वाईज तर्फको प्रतिस्पर्धामा आरब हाडा(१ं) ले भारतीय खेलाडी रोहन पटेललाई पराजित गर्न भने खासै मेहनत गरेनन् । पहिलो सेट ६–१ ले सहजै लिएर लयमा देखिएका हाडाले दोस्रो सेट पनि उस्तै ६–१ कै सेटमा पराजित गरीभारतीय चुनौतिलाई पन्छाउँदै उपाधि निकट पुगे ।

उता कोर्ट नम्बर ४ मा भएको ब्वाईज दोस्रो सेमिफाईनल प्रतिस्पर्धामा अकिजुबेन रावतले नेपालकै इभ्याक जोशीलाई ६–४, ६–२ को सेटले पन्छाउँदै फाईनल प्रवेश गरे । उनले अब उपाधिको लागि आरब हाडासँग प्रतिस्पर्धा गर्ने छन् । सर्किट १ को खेल समापनपछि कास्की जिल्ला टेनिस संघले सर्किट २ का खेलहरु सञ्चालन गर्ने जनाएको छ ।

source : kheladinews.com