माघ दोस्रो साता वालिङ महोत्सव

सातौं वालिङ महोत्सव आगामी माघ १७ देखि २८ गतेसम्म वालिङ खेल मैदानमा हुने भएको छ । ‘ हाम्रो गौरव, हाम्रो शान, वालिङ महोत्सव, हाम्रो पहिचान ’ भन्ने नाराका साथ वालिङ उद्योग वाणिज्य संघको आयोजनामा प्रत्येक २ वर्षमा महोत्सव गर्ने गरिएको छ ।

प्रादेशिक कृषि, पर्यटन, सांस्कृतिक, सूचना प्रविधि एवं औधोगिक व्यापारिक मेला २०७५ मा अन्तर्राष्ट्रिय स्तरको माउन्टेन बाइक १०० किमी पहाडी साइकल यात्रा प्रतियोगितासमेत हुने संघका अध्यक्ष शोभाकान्त पौडेलले जानकारी दिए । उनले भने, ‘यसपालिको महोत्सवमा दर्शकले साहसिक खेल प्याराग्लाइडिङ, हेलिकोप्टर र आँधिखोलामा जलयात्राको मज्जा लिन पाउने छन् ।

महोत्सव गर्नसंघको बैठकले अध्यक्ष शोभकान्त पौडेलको संयोजकत्वमा ३१ सदस्य मुल आयोजक समित गठन गरेको छ । समितिको सहसंयोजक एवं लोक दोहोरी प्रतियोगिता तथा सांस्कृतिक व्यवस्थापन संयोजक सघंका वरिष्ठ उपाध्यक्ष अर्जुन खनाल छन् ।

३ महिना अगाडिदेखि नै महोत्सव प्रचारप्रसारका लागि राजमार्ग छेउछाउमा होर्डिङ बोर्ड, प्रचार सामग्री राख्ने अभियानमा तीव्रता दिएको वरिष्ठ उपाध्यक्ष खनालले बताए । ‘यो स्याङ्जाको पर्व हो । जुन हरेक २ वर्षमा मनाइन्छ,’ उनले भने ।