पोखरा वडा १५ नयाँ भवनमा

पोखरा १५ को नयाँ भवन बुधबार उद्घाटन गरिएको छ । वडाले बनाएको एउटा हलसहित ४ कोठे भवन महानगरका मेयर मानबहादुर जिसीले उद्घाटन गरे ।

जिसीले संविधानले वडालाई धेरै नै अधिकार दिएकाले वडावासीको सहजताका लागि भवन महत्वपूर्ण हुने बताए । स्मार्ट भवन जस्तै जनताको काम पनि स्मार्ट तवरले गर्न उनले आग्रह गरे ।

वडा नं १५ ले सञ्चालन गरेको सिसी टिभी जडान अभियान निकै प्रभावकारी भएको बताए । सो अभियानमा महानगर र प्रहरी कार्यालयसँग समन्वय गर्न उनले सुझाव दिए ।

वडाध्यक्ष प्रकाश पौडेलले जनताको सेवाकै लागि आफूले अहोरात्र काम गरिरहेको बताए । ३८ लाख ५० हजार लागतमा निमार्ण भएको भवनको तला थप्ने काम बाँकी छ । तला थप्नका लागि करिब २५ लाख लाग्ने जनाइएको छ । यसको प्रस्ताव महानगरमा पेश गरिएको वडाध्यक्ष पौडेलले बताए ।

जिल्ला समन्वय समिति कास्की सदस्य तथा वडा नं १५ का वडा सदस्य तोरण बानियाले महानगरकै नमुना वडाको रुपमा विकास गर्न सबैको सहयोगको खाँचो औंल्याए ।

नेपाली कांग्रेस वडा नं १५ का सभापति टोपबहादुर थापा, जनजागृति आमा समूहका अध्यक्ष विमला गुरुङ, पूर्व वडाध्यक्ष शिवबहादुर बानिया, वडा सदस्य तथा भवन निर्माण समिती संयोजक रुकबहादुर गुरुङ लगायतले बोलेका थिए ।