किराँत सेवा समाजमा अक्षय कोष

किराँत सेवा समाज कास्कीले २ लाख ८१ हजार ५ सय २१ को सहयोग कोष स्थापना गरेको छ । समाजले तिहारको अवसरमा आयोजना गरेको देउसी भैलो कार्यक्रमबाट संकलन गरेको २ लाख ८१ हजार ५ सय २१ रुपैयाको सहयोग कोष स्थापना गरेको हो ।

गत शनिवार किराँत सेवा समाज कास्कीको प्राङगण पोखरा १५ टुटङ्गामा आयोजना गरेको देउसीभैलो कार्यक्रमबाट उक्त रकम संकलन भएको थियो । देउसीभैलो कार्यक्रममा विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा पूर्वेली चेली गण्डकी प्रदेशका उपसभामुख सृजना शर्मालाई सम्मान गरिएको थियो ।

उपसभामुख शर्माले पूर्वबाट पोखरा आई बसोबास गर्ने पूर्वेलीहरुको संस्था किराँत सेवा समाजको सम्मानले आफू गौरवान्वित भएको बताइन् । पश्चिममा बस्ने किराँतहरुले आफ्नो भाषा, कला र संस्कृतिको जगेर्ना गर्न लागेकोमा उनले खुसी ब्यक्त गरिन ।

सो अवसरमा गण्डकी प्रदेशका प्रदेश सभा सदस्य इन्द्रधारा विष्ट, समाजका सल्लाहकार गणेश देवान, पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष प्रकाश पौडेल लगायतले किराँतहरुले आफ्नो भाषा, संस्कृति र संस्कारको संरक्षणमा लागेकोमा खुसी ब्यक्त गरे ।

कार्यक्रममा पूर्वेली कला र संस्कृति झल्काउने साकेला, च्याब्रुङ, चण्डी नाच, मारुनी नाच लगायतका सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो । किरांत सेवा समाज कास्की अध्यक्ष लोकेन्द्र राइको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन समाजका सचिव नवीन राइ र सांस्कृतिक कार्यक्रम संचालन लेकसाइड इकाइ सचिव अनुज कुलुङले गरेका थिए ।

समाजमा रहेका आर्थिक अवस्था कमजोर भएका कुनै सदस्यलाई भैपरी वा आपदविपदमा सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरिएको हो । कोषमा रकम थपिदै लगिने कराँत सेवा समाज कास्कीका अध्यक्ष लोकेन्द्र राइले बताए ।