दीपकलाई बाबा आनन्द पुरस्कार

बाबा आनन्द सञ्चार पुरस्कार २०७५ पत्रकार दीपक परियारलाई प्रदान गरिने भएको छ । बाबा फाउन्डेसन नेपालद्वारा सञ्चालित यो पुरस्कार आनन्दराज श्रेष्ठको स्मृतिमा स्थापना भएको हो ।

मंगलबार बसेको प्रतिभा छनोट समिति बैठकले परियारलाई पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । प्रत्येक वर्ष प्रदान गरिने यो पुरस्कारको राशि यस वर्षदेखि वृद्धि गरी १९ हजार ५ सय ५५ रुपैयाँ बनाइएको छ । उनी कान्तिपुर दैनिकमा आवद्ध छन् ।

पोखरा ३२ निवासी परियारले जनदिशा राष्ट्रिय दैनिकबाटबाट पत्रकारिता सुरु गरेका हुन् । उनी वन विज्ञान अध्ययन संस्थान पोखरामा अध्ययन गरेकाले पनि वातावरण बिटमा रिपोर्टिङ गर्न रुचाउँछन् । साहित्य, मनोरञ्जन, खेलकुद उनका रुचिका विषय हुन् ।

नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव उनी यसअघि मीना गुरुङ सिर्जनशिल पत्रकारिता पुरस्कारबाट सम्मानित भइसकेका छन् । मंसिर ९ गते आइतबार हुने कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ ।

प्रतिभा छनोट समितिमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष नारायण कार्कीकोे संयोजकत्वमा सदस्यमा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, पूर्व सम्मानित व्यक्तित्व कृष्णमणि बराल, पुरस्कार स्थापना गर्ने परिवारका सदस्य सर्मिला श्रेष्ठ र बाबा फाउन्डेसन नेपालका सचिव टंकराज अधिकारी छन् ।