फेवा किनारमा नेपाल लिटरेचर फेस्टिभल

बुकवर्म फाउन्डेसनले आयोजना गर्दै आएको साहित्य सम्मेलनको सातौं संस्करण पुस ७ देखि १० गतेसम्म पोखरामा हुने भएको छ । ‘आइएमइ नेपाल लिटरचेर फेस्टिभल’मा विभिन्न देशका ख्यातिप्राप्त लेखक, साहित्यकार आउँदै छन् ।

सम्मेलनबारे जानकारी दिन काठमाडौंमा भएको पत्रकार सम्मेलनमा आइएमइका प्रबन्ध निर्देशक हेमराज ढकाल र आइएमइ लिमिटेडका कार्यकारी प्रमुख सुमन पोखरेलले सम्मेलनमा जोडिन पाउँदा आफूहरू हर्षित रहेको बताए ।

लेखकले पाठक भेट्ने र पाठकले आफ्नो मनपर्ने लेखक भेट्ने अवसर

वरिष्ठ साहित्यकार खगेन्द्र संग्रौलाले सम्मेलनलाई लेखकको उत्सवका रूपमा रहेको बताए । लेखकले पाठक भेट्ने र पाठकले आफ्नो मनपर्ने लेखक भेट्ने अवसर पनि सम्मेलन रहेको भन्दै संग्रौलाले सामाजिक सञ्जालले पुस्तक पढ्ने बानी कम गराइदिएको र यस्तो प्रवृत्तिबाट जोगाउने माध्यम भनेकै पुस्तक रहेको टिप्पणी गरे ।

फेस्टिभलका निर्देशक अजित बरालले उमेरको हिसाबसँगै फेस्टिभलले आफ्नो उचाइमात्र नभई विश्वास पनि बढाएको बताए । नेपाली र अन्य भाषा र भूगोलका साहित्यलाई एउटै मञ्चमा ल्याएर मन्थन गर्ने, स्रष्टा र पाठकबीचको दूरी कम गर्ने र फरक विचारलाई उत्तिकै सम्मानका साथ स्थान दिने जस्ता लोकतान्त्रिक अभ्यास मजबुत बनाउने काममा फेस्टिभल उत्प्रेरक बनेको उनको भनाइ थियो ।

सम्मेलनका कार्यकारी निर्देशक नीरज भारीले पोखराको पर्यटन क्षेत्रमा सहयोग गर्न पनि सम्मेलन पोखरामा आयोजना गर्न लागिएको धारणा राखे ।

सम्मेलनको सह आयोजक स्थानीय ¥यान्डम रिडर्स सोसाइटी छ । यसपटक फेवाताल किनारमा अवस्थित रत्न मन्दिरअगाडिको चौरमा महोत्सव हुने भएको छ ।

सम्मेनलमा बेलायती ग्राफिक नोभलिस्ट निकोला स्ट्रिटनसँग मास्टर वर्कसप तथा क्रिएटिङ हिरोइन्स प्रोजेक्ट अन्तर्गतको प्रदर्शनी हुनेछ ।

सम्मेलनमा पाकिस्तानका मोहम्मद हनिफ, भारतकी नमिता गोखले, बेलायतकी डा. निकोला स्ट्रिटेन, क्यानडाकी मञ्जुश्री थापा, भारतका प्रज्ज्वल पराजुली, भारतका हरिश नाम्बियर लगायत सहभागी हुने छन् ।