कास्की, पर्वत र स्याङ्जाको संगमस्थल पञ्चासे जान ३/४ वटा बाटा छन् । पोखरा नजिकै रहेको पञ्चासेको सौन्दर्यमा रम्न चाहनेका लागि चाडै नयाँ मार्ग थपिँदै छ । पञ्चासे केबलकार परियोजनाले १० अर्ब खर्चेर केबलकारसहितका संरचना बनाउन लागेको हो ।
६ वर्षभित्र केबलकारबाट धार्मिक एवं पर्यटकीय महत्वको पञ्चासे पुग्न सकिने परियोजना अध्यक्ष रामचन्द्र शर्माले बताए । २०७६ माघबाट निर्माण सुरु गरी २०८२ सम्ममा केबलकार चलाउने परियोजनाको तयारी छ ।
घाँटीछिनाबाट केबलकार चढेर पञ्चासे तलको ताल नजिक यात्रु उत्रिने छन् ।
घाँटीछिनाबाट केबलकार चढेर पञ्चासे तलको ताल नजिक यात्रु उत्रिने छन् । साढे ८ किमी लामो केबलकारले दिनमै १० हजार यात्रु आवतजावत गर्न सक्ने शर्माले बताए । एकै पटकमा २ हजार ४ सय जना आवतजावत गर्न मिल्ने परियोजनाको दाबी छ ।
परियोजनाले केबलकारसँगै पर्यटकलाई लोभ्याउन अन्य संरचना पनि बनाउने जनाएको छ । ३ अर्ब केबलकार र ७ अर्ब अन्य संरचना बनाउन खर्च हुने जनाइएको छ । घाँटीछिनामा स्थानीयका हस्तकलाका सामान बेच्ने व्यवस्था मिलाइने भएको छ । त्यहाँ ३ हजार रोपनीमा हेरिटेज प्लाजा बनाउने योजना छ ।
परियोजनाले श्रवणकुमार आश्रम, फाउन्टेन म्युजिकल पनि बनाउने छ । श्रवणकुमार आश्रममा असहाय वृद्धवृद्धलाई राख्ने योजना छ । जिप फ्लाएर, फन पार्क र उपचारक ा लागि हस्पिटलसमेत बनाउने परियोजनाको तयारी छ ।
परियोजनाले पर्वतको मोदी गाउँपालिका, कास्कीको पोखरा महानगर र स्याङ्जाको आँधीखोला गाउँपालिकाका बासिन्दालाई ३ अर्बको सेयर दिने जनाएको छ । कम्पनीले कर्पाेरेट, सर्वसाधारण र पत्रकारलाई पनि फरक फरक तवरका सेयर दिइने जनाएको छ ।