पोखरा भन्ने बित्तिकै लेकसाइड आइहाल्छ । पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा पछिल्लो समय सरसफाइको चुनौती थपिँदै गएको थियो ।
शुक्रबारसम्म जथाभावी फोहोर फाल्ने, फोहोर गर्नेले कहिले माफी पाउँथे । कहिले सामान्य जरिवानामात्र तिर्थे । अब पोखरा वडा नं. ६ मा त्यसरी छुट नमिल्ने भएको छ ।
पोखरा ६ वडा कार्यालयले सरोकारवालासहितको भेला गरी फोहोर गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको हो । सेफ्टी ट्यांकीको फोहोर फाल्नेले ५० हजार जरिवाना तिर्नुपर्ने छ ।
भेलाले साबुन पानी फाल्नेलाई ३ हजारदेखि ५ हजारसम्म, सकफिटको फोहोर फाल्नेलाई २५ हजार, सार्वजनिक ठाउँमा फोहोर फाल्नेलाई १५ हजार, अनुमति बिना रुख काट्नेलाई ५ हजार जरिवाना लिने निर्णय गरेको छ ।
फेवातालमा लुगा धुनेसँग ३ हजारदेखि ५ हजार हर्जाना लिइनेछ भने व्यवसायिक रुपमा गाडी र मोटरसाइकल धोए ५ हजार तिर्नुपर्ने हुन्छ ।
निर्माण सामग्री राखेर वा अन्य चिजले फुटपाथ अवरोध गरे ३ हजारदेखि ५ हजार जरिवानाको भागिदार हुनुपर्ने हुन्छ ।