मंसिर १ बाट बेलुनबाट पोखरा सयर

- धम्पुसबाट उडान गरी मार्दी खोलाको तीरमा अवतरण

हट एयर बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ ।

बेलुन प्रालि नेपाल, काठमाडौंले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदै छ । उडान शनिबार बिहानबाट सुरु हुने प्रालिका सञ्चालक सदस्य प्रवीण महर्जनले बताए ।

‘भोलि बिहान बिहान ९ बजे पोखराको लेकसाइडबाट पहिलो उडान सुरु हुनेछ, हामीसँग २ वटा बेलुन छन् । पहिलो चरणमा हामी एउटा मात्र उडाउँछौं, एउटामा एक पटकमा ८ जनाले उडान भर्न मिल्छ’, उनले भने ।

नेपालीलाई प्रतिव्यक्ति ११ हजार तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १ सय ६० अमेरिकी डलर

पोखरालाई पर्यटनसँगै खेल पर्यटनको पनि केन्द्र बनाउने उद्देश्यसहित उडान सुरु गर्न लागिएको उनको भनाइ छ । बेलुनले पर्यटकीय नगरी पोखराको धम्पुसबाट उडान गरी मार्दी खोलाको तीरमा अवतरण गर्नेछ । यस व्यवसायबाट २५ जनाले रोजगारी पाउने बेलुन प्रालि नेपालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उडानका लागि प्रालिले स्पेनको अल्ट्राम्याजिक बेलुन कम्पनीसँग बेलुन खरीद गरिसकेको छ । खेलका लागि आवश्यक पूर्वाधारको काम भइरहेको छ भने उडान सुरक्षित बनाउन भारतबाट तालीम प्राप्त बेलुन पाइटल ल्याइएको छ । नेपालमै पनि पाइलट उत्पादनका लागि निकट भविष्यमै तालिम सुरु गरिने महर्जनले बताए ।

प्रालिले नेपालीलाई प्रतिव्यक्ति ११ हजार तथा विदेशी पर्यटकका लागि प्रतिव्यक्ति १ सय ६० अमेरिकी डलर शुल्क लिई १ पटकमा ८ पर्यटकलाई उठाउनेछ । नेपालको आर्थिक मेरुदण्डको रूपमा रहेको साहसिक खेलमार्फत पर्यटकलाई थप आकर्षित गरिने प्रालिले विश्वास लिएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिरणबाट इजाजत लिई सुरु गर्न लागिएको साहसिक खेलसँगै निकष्ट भविष्यमा ‘हट एयर’ बेलुनबाटै स्काइडाइभ, बन्जी जम्प र हट एयर बेलुनसँग सम्बन्धित अन्य सहासिक कार्यक्रम गर्दै जाने प्रालिले जनाएको छ ।