गरिबी र अभाबको धनी हीराबहादुरकी छोरी जन्मिई ! जातीय परम्पराअनुसार उसले जन्मेको छ दिनमा छैटी गर्यो ! छैटीमा भावी आएर बच्चीको निधारमा भाग्य लेखिदिए – ” ….. कुपोषण, रोग र अभाबको सिकार हुँदै घांस-दाउरा गर्ने, लिपपोत गर्ने, अर्काकी नोकर्नी भएर भांडा माझ्ने, एउटा गरिब केटासंग बिहे गर्ने, सानै उमेरमा बिधवा बन्ने, लाखौं अपमान र तिरस्कार सहेर उपचारको अभाबमा अल्पायूमै मृत्युवरण गर्ने….!
समयको बृद्धिसंगै हीराबहादुरकी छोरी हुर्कँदै गई ! साहूको घरमा काम गरेर पनि उसले पढ़ाई लाई निरन्तरता दिई सधै प्रथम हुँदै गई ! छात्रवृति पाएर क्याम्पस पढ्न थाली, राम्रो जागीर पनि पाई ! उसको यात्रा रोकिएन ! स्नातकोत्तर सम्म सधै प्रथम भई ! कलकलाउदो उमेरमै बिध्यावारिधि गरेर दात्री संस्थाहरुसंग समन्वय गरी गाउँमा बिजुली, पानी, टेलिफोन, बिध्यालय, स्वास्थ्य केन्द्र आदि स्थापना गरी !
सहपाठी एबम सहकर्मी प्राध्यापकसंग बिहे गरेर सन्तानलाभ पनि गरी ! उसको बिद्वता, साहस, सुकर्म एबम सफलताको चारैतर्फ प्रशंसा भयो !
उता छैटीको दिन भाग्य लेखिदिने भावी भने निधारमा हात राखेर हेरेकोहेर्यै भए !