रेडलाइट एरिया तोकिए महिला बेचबिखन हुन्छ

शक्ति समूह नेपालले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिन नहुने अडान राखेको छ । संस्थाले यौन व्यवसायलाई कानुनी मान्यता दिए महिलाको नेपालमै बेचबिखन हुने चिन्ता जाहेर गरेको छ ।

समूह मानव बेचबिखनबाट प्रभावितबाट खोलिएको संस्था हो । शक्ति समूह नेपालका संस्थापक तथा कार्यकारी निर्देशक सुनिता दनुवारले नेपालमा यौन व्यवसायलाई कानुनसम्मत बनाउन नसकिने बताइन् । केही महिनाअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखरामा रेड लाइन एरिया तोकेर यौनकर्मीलाई लाइसेन्स दिनुपर्ने धारणा राखेका थिए । यसबारे अझै बहस भइरहेको छ ।

सरकारले क्याबिन, मसाज पार्लर तथा डान्सबार अनुगमन गर्न सकेको छैन, रेडलाइट एरिया तोके सरकारले कसरी व्यवस्थित गर्न सक्छ ?

सुनिता दनुवार

रेडलाइट एरियामा कुमारी केटीको मोलमोलाइ हुने उल्लेख गर्दै उनले मोल मोलाइमा धेरैका छोरीहरु बलात्कृत हुन सक्ने बताइन् ।

शक्ति समूह कास्कीले मंगलबार आयोजना गरेको कार्यक्रममा उनले नेपालको कुनै पनि क्षेत्रलाई रेडलाइट एरिया तोकिए आन्तरिक रुपमा महिलाको बेचबिखन सुरु हुने दाबी गरि । यौन व्यवसायले भारत, अमेरिका लगायतका खुला मुलुकमा समेत कानुनी मान्यता नपाएको तर्क गर्दै उनले नेपालमा त्यस्तो कल्पनासमेत गर्न नसकिने उल्लेख गरिन् ।

‘सरकारले क्याबिन, मसाज पार्लर तथा डान्सबार अनुगमन गर्न सकेको छैन,’ उनले प्रश्न गरिन्, ‘रेडलाइट एरिया तोके सरकारले कसरी व्यवस्थित गर्न सक्छ ?’

नेपालका महिला वैदेशिक रोजगारी लगायतका बहानामा दक्षिण अफ्रिका लगायतका मुलुकमा बेचबिखन भइरहेको उनले स्मरण गरिन् । उनले महिलालाई आफ्नै देशमा बेचबिखन हुन नदिन सबै सरोकारवालाले आवाज उठाउनुपर्नेमा जोड दिइन् ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले मनोरञ्जन क्षेत्रमा हुने विकृति तथा विसंगतिलाई नियन्त्रणमा ध्यान दिनुपर्ने बताए ।

गैसस महासंघ कास्की अध्यक्ष पदमराज पहारीले मनोरञ्जन क्षेत्रमा कार्यरत कर्मचारीले नियुक्तिपत्र तथा परिचयपत्र पाउन नसकेको उल्लेख गरे ।

शक्ति समूह नेपालले व्यवसायीक रुपमा हुने बाल यौन शोषण बिरुद्ध हस्ताक्षर अभियानसमेत सुरुआत गरेको छ ।