मनकामना केबलकार कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आगामी माघको दोस्रो सातादेखि पोखरा रंगशालामा हुने भएको छ ।
आयोजक कास्की जिल्ला फुटबल संघले तेस्रो संस्करणको प्रतियोगिता तयारी सुरु गरेको छ । ‘प्रतियोगिताका लागि पहिलो चरण अन्तर्गत मैदानको स्तरोन्नतिको काम भइरहेको छ’–संघ कास्कीका अध्यक्ष मिलन गुरुङले भने ।
मैदान गोडमेलका लागि अहिले दैनिक १० जनाले काम गरिरहेका छन् । मैदान सम्याउने, झार उखेल्ने र दुबो रोप्ने काम अर्को हप्तासम्म सकिने अध्यक्ष गुरुङले बताए । त्यस लगत्तै मैदानमा पानी हाल्ने र तारबार गरेर संरक्षण गरिनेछ । यसका लागि झण्डै ५ लाख खर्च लाग्ने अनुमान छ ।
मैदानको काम सकिएपछि विभिन्न उपसमिति गठन गरिने संघका उपाध्यक्ष विश्व तण्डुकारले बताए । मैदान पश्चिमतर्फ भत्किएको प्याराफिटमा दर्शक बस्न मिल्ने गरी उचित व्यवस्था गरिने तण्डुकारले जानकारी दिए ।
प्याराफिट भएको ठाउँमा अहिले झाडी छ । झाडी फाँडेर त्यसलाई सम्याउने, मैदानको पूर्वतर्फ स्काइफोल्डर राख्ने र भिआइपीका लागि मञ्चको व्यवस्थापन गरिने उनले बताए । ‘हामी झण्डै ३÷४ हजार दर्शकले राम्रोसँग खेल अवलोकन गर्न मिल्ने गरी काम गर्छौ’ तण्डुकारले भने ।
संघ कास्की यसपटकको प्रतियोगितामा ४ विदेशी टिम ल्याउने कोसिस छ । त्यसबाहेक नेपालका उत्कृष्ट ए डिभिजन क्लब, विभागीय टिम तथा आयोजकसहित १२ टिमलाई प्रतियोतिगामा सहभागिता गराइने संघले जनाएको छ ।