कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालाले संघीय सरकारले प्रदेशलाई अधिकार दिन कन्जुस्याई गर्न नहुने बताएका छन् । लामो समयको त्यागबाट प्राप्त उपलब्ध संस्थागत गर्न राजनीतिक दलको सहमति, सहकार्य र एकता कायम हुनुपर्नेमा उनले जोड दिए ।
नेपाली कांग्रेस कास्कीले मंगलबार आयोजना गरेको चियापान कार्यक्रममा कोइरालाले सरकार असफल भए संघीयता असफल हुने उल्लेख गरे । उनले सुरक्षा संयन्त्र बलियो बनाउन प्रदेशलाई सुरक्षाको जिम्मा दिन केन्द्रीय सरकारलाई अनुरोध गरे ।
कास्की सभापति कृष्ण केसीले आगामी निर्वाचनमा कांग्रेसलाई पहिलो र शक्तिशाली पार्टी बनाउने गरी लाग्न सबैमा अनुरोध गरे । पट्यारलाग्दा भाषण र लम्बेतान कार्यक्रमबाट आजित कार्यकर्ता समयमै छोटो कार्यक्रम हुँदा चियाको चुस्कीसँगै मख्ख थिए ।
कार्यक्रममा नेता गोपालमान श्रेष्ठ, सूर्यबहादुर केसी, जीवन परियार, नेकपा नेता अध्यक्ष कृष्ण थापा लगायत सहभागी थिए ।