गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया सुरु भएको छ ।
आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजना अन्तर्गत १ सय किलोमिटर सडक निर्माण प्रक्रिया सुरु गर्न लागेको जानकारी दिए ।
आयोजनावरपर चक्रपथ निर्माणका लागि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको छ । प्रमुख कार्कीले भने,‘आउँदो पुसदेखि सडक निर्माणका लागि ठेक्का प्रक्रिया सुरु हुन्छ । केही प्रक्रिया मिलाउन बाँकी रहेकाले ढिलाइ भएको हो ।’
उनले गोरखातर्फ घ्याल्चोकको सिउरेनीटारबाट बोर्लाङको महादेवटारसम्मको १ सय किलोमिटर सडकको डिपिआर बनाइएको जानकारी दिए । त्यस्तै धादिङतर्फ पनि चालु आवमा १ सय किलोमिटर सडकको ट्र्याक खोल्ने तयारी रहेको बताए । अब गोरखातर्फ ६० र धादिङतर्फ २५ किमी सडकको डिपिआर बनाउन बाँकी छ ।
सडक निर्माणका लागि यो आर्थिक वर्ष सरकारले १२ करोड छुट्याएको छ । दुवै जिल्लामा रु ६÷६ करोड खर्चेर ट्र्याक निर्माण अघि बढाउन लागिएको हो । बूढीगण्डकी आयोजनाको जलाशय करिब ५४ किमी फराकिलो हुनेछ ।
आयोजनाले चक्रपथ वरपर ३ सय किलोमटिर रिङरोड बनाउने गरी डिपिआर तयार पारेको छ ।