पोखराका सबैजसो वडाबाट कर संकलन

नयाँ कार्यविधि अनुसार पोखरा महानगरपालिकाले वडा कार्यालयबाट पनि कर संकलन सुरु गरेको छ ।
एकीकृत सम्पत्तिको नाममा उच्च अदालत पोखराले कर नउठाउन आदेश दिएपछि महानगरले सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर शीर्षकमा महानगर कार्यालय र वडा कार्यालयबाट कर संकलन सुरु गरेको हो ।

पोखरा महानगरपालिका राजश्व शाखा प्रमुख छवि शर्माका अनुसार साविक लेखनाथमा पर्ने वडा नम्बर २७, २९,३० र ३१ बाट कर संकलन सुरु भएको छ । वडा नम्बर ५, ६, ७, ८, १०, १३, १५, १७ मा पनि सम्पत्ति कर तथा भूमि व्यवस्थापन कर, घरनक्साको राजश्व लगायत सबै कर तिर्न सकिने शर्माले जानकारी दिए ।

जनुसुकै वडाका बासिन्दाले जुनसुकै वडाबाट कर तिर्न र राजश्व बुझाउन मिल्ने उनले जानकारी दिए । महानगरको कार्यालयसम्म धाउन नपर्ने र पायक पर्ने वडा कार्यालयमा कर तिर सकिने शर्माको भनाइ छ । वडा नम्बर १,२,३,४,११ र १६ नम्बर वडामा बुधबारदेखि कर संकलन सुरु हुनेछ ।

‘पहिले नै भएको एकीकृत सम्पत्ति करका केही बुँदा संशोधन गरेर नयाँ कार्यविधि पारित गरेर महानगरले कर संकलन सुरु गरेको महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले बताए । असोज ५ गते राजपत्रमा करसम्बन्धी नयाँ कार्यविधि प्रकाशित भएपछि महानगरले कर संकलन सुरु गरेको हो ।