प्रदेश ५ का जिल्लामा नयाँ शक्तिको प्रशिक्षण

नयाँ शक्ति पार्टी, प्रदेश नं. ५ ले प्रदेश अन्तर्गतका जिल्लामा पार्टी प्रशिक्षण आयोजना गरेको छ । सोमबार प्युठानमा भएको कार्यक्रमसँगै प्रदेशका १० जिल्लामा जिल्लास्तरीय प्रशिक्षण सकिएको शक्तिका प्रदेश प्रशिक्षण विभाग प्रमुख मनिकर कार्कीले बताए ।

नयाँ शक्तिले सोमबार बिजुवार, जुम्रीमा प्युठान र रोल्पा जिल्लाको संयुक्त प्रशिक्षण कार्यक्रम गरेको छ । प्यूठानमा भएको कार्यक्रममा मुख्य प्रशिक्षक पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा प्रवक्ता डम्बर खतिवडाले नेकपा नेतृत्वको सरकारले आम नागरिकलाई झुक्याउने काम गरेकाले अब यो लामो समयसम्म नटिक्ने बताए । जनताका समस्या समाधान गर्नभन्दा सरकार आफ्नै ५ वर्षे कार्यकाल सुरक्षित गर्नतिर लागेको बताउँदै सरकारले भ्रष्टाचार र आर्थिक अनियमितताको माखोसाङलोमा अड्किएको उनले उल्लेख गरे ।

सो पार्टीका प्रदेश नं. ५ का इन्चार्ज नवराज सुवेदीले नयाँ शक्तिले अंगिकार गरेको ‘५ स’ को भिजन नै मुलुकको विकास र समृद्धिको आधार भएको बताउँदै नयाँ शक्तिले देशब्यापी रुपमा संगठन विस्तार गरी जनपरिचालनका काम गरिरहेको बताए । उहाँले नयाँ शक्ति तेस्रो वैकल्पिक धारको रुपमा अघि बढेको बताउँदै अबको निर्वाचनसम्म एक सशक्त वैकल्पिक शक्तिको रुपमा स्थापित हुने दाबी गरे ।

प्यूठानका जिल्ला इन्चार्ज जिएस गुरुङले यो देशको विकास र रुपान्तरणका लागि नयाँ शक्ति नै सबैको आशा र भरोसाको केन्द्र भएको बताए ।