पोखरा विश्वविद्यालयको कार्यकारी परिषदले मोरङको उर्लाबारीमा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाललाई संयुक्त आंगिक कलेज स्थापनाका लागि स्विकृति प्रदान गरेको छ । प्रतिष्ठानलाई विश्वविद्यालयले विज्ञान तथा प्रविधि संकायतर्फ सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङका कार्र्यक्रम सञ्चालन गर्न अनुमति दिएको हो ।
प्रतिष्ठानले यसअघि पनि विभिन्न प्राविधिक विषय अध्ययन अध्यापन गराउँदै आएको छ । प्रतिष्ठान र विश्वविद्यालयबीच सोमबार भएको सम्झौतामा विश्वविद्यालयका तर्फबाट विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशी र प्रतिष्ठानको तर्फबाट कार्यकारी अधिकृत विनोद अर्यालले हस्ताक्षर गरेका छन् ।
कलेजमा यसै शैक्षिक सत्रबाट ९६ सिट सिभिल इन्जिनियरिङ र ४८ सिट कम्प्युटर इन्जिनियरिङको अध्यापन सुरु गरिनेछ । प्रतिष्ठानले विश्वविद्यालयको संयुक्त आंगिक कार्यक्रमका लागि सबै प्राविधिक तथा भौतिक पूर्वाधारको तयारी पूरा गरिसकेको छ । कलेजले विश्वविद्यालयको आंगिक कार्यक्रममा व्यवस्था भए बमोजिमकै शैक्षिक शुल्कमा अध्यापन गराउने र २० प्रतिशत विद्यार्थीले समेत पूर्ण छात्रवृत्तिको अवसर प्राप्त गर्ने विश्वविद्यालयका विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीले बताए ।
यो निर्णयसँगै विश्वविद्यालय अब प्रदेश नं. १ मा समेत विस्तार भएको छ । हाल विश्वविद्यालयसँग ४ वटा आंगिक, २ वटा संयुक्त आंगिक र ५८ वटा सम्बन्धन प्राप्त कलेज छन् ।