भारतीय कम्युनिस्ट पार्र्टीका महासचिव सीताराम यचुरीले सन् २०१९मा भारतमा हुने लोकसभाको निर्वाचन निर्णायक बन्ने बताएका छन् ।
नेपाल कम्युनिस्ट पार्र्टी (नेकपा)को निमन्त्रणामा नेपाल भ्रमणमा आएका नेता यचुरीले वर्तमान नरेन्द्र मोदीको सरकार हराउन अधिकतम पहल गर्ने बताए । आइतबार पोखरा भ्रमणको क्रममा पत्रकारसँग कुरा गर्दै महासचिव यचुरीले आगामी निर्वाचनमा भारतीय जनता पार्र्टी तथा त्यसका सहयोगीलाई हराउन लाग्ने प्रतिक्रिया दिए । ‘अबको निर्वाचनमा भारतीय कम्युनिस्ट पार्टी लगायत अन्य वामपन्थीको शक्ति बढाउन केन्द्रित गरिने छ,’नेता यचुरीले भने,‘सेक्युलर वैकल्पिक शक्ति सरकारमा ल्याउन पुरै कोसिस गर्ने छौं ।’
नेता यचुरीले मोदी सरकारको गलत नीतिको कारण युवा बेरोजगारी बढेको दाबीसमेत गरे । श्रमजीवी मजदुर र किसानको समस्यालाई हल गर्न नसकेको उल्लेख गर्दै उनले मंहगीसमेत बढेको बताए । पत्रकारको प्रश्नमा नेता यचुरीले भारतमा मध्यम खालको जनता अत्यधिक भएकोले र कम्युनिस्ट पार्र्टीले तिनै जनताको पक्षमा काम गरेकोले पार्र्टीको भविष्य राम्रो भएको उल्लेख गरे ।
महासचिव यचुरीले नेपालमा २ मुख्य कम्युनिस्ट पार्टी एकीकरण र चुनावी परिणामले भारत लगायतका कम्युनिस्टका लागि उत्साह थपेको प्रतिक्रिया दिए । उनले संविधान निर्माणपछि नेपालमा राजनीतिक स्थिरतासमेत कायम भएको बताए । पहिलो पटक पोखरा भ्रमणमा आएका महासचिव यचुरीले पोखराको पर्यटन प्रबद्र्धनमा सघाउने समेत बताए ।
भारतीय कम्युनिस्ट पार्र्टी (माक्सवादी)का महासचिव सीताराम यचुरीको सम्मानमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ तथा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले कार्यक्रम गरेका छन् ।
नेकपाका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री खगराज अधिकारी, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान लगायतका नेताले महासचिव यचुरीको स्वागत गरेका थिए ।