
शुरु भएको छ साहित्यिक कार्यक्रम
आशनग्रहण गरेका छन् क्रान्तिकारी कविले
बस एकछिन पर्खनोस्
भूरा कविको पालो नसकिएसम्म पर्खनोस्
क्रान्तिकारी कविता र भाषण
सित्तैमा सुन्न कहाँ पाईन्छ ?
अनुहारले नै चिनिन्छ क्रान्तिकारी कवि
माक्र्सवाद र क्रान्ति मिसिएको आभा
माक्र्सकै जस्ता दारी
क्रान्ति नायकको जस्तो भाषण शैली
अचेल क्रार्यक्रममा पनि उनले क्रन्ति गरेका छन्
उनी अक्सर आउँदैनन् अक्षरयात्रामा
बेपत्ता छन् साहित्य श्रृखला र गजल सन्ध्याबाट
क्रान्तिकारी कवि बन्न केही त गर्नैप¥यो ।
वर्तमान र भविष्यका प्राज्ञको संगत छ
लेख्दैछन् भक्ति भजन
गाउँदैछन् खैजेडीको तालमा
मदिरालयमा भेटिन्छन् र
योजना बनाउँछन् निम्छराको जरो उखेल्ने
भोलिपल्टै क्रान्तिकारी भाषण पनि टोक्छन्
उनकै पक्षमा छन् मिडिया पनि
क्रान्तिकारी कवि बन्न केही त गर्नै प¥यो ।
अब पुरानो तरिकाले क्रान्ति हुँदैन
खोला तरेपछि लौरो किन चाहियो ?
यस्तो छ उनको क्रान्तिको सौन्दर्य शास्त्र
निमोठ्न थालेका छन् निम्छरा कलमहरु
मोतियाबिन्दु लागेको छ विवेकमा
वर्ग शत्रु र वर्ग मित्र छुट्याउन नसक्ने गरी
राज्यसक्ता गुमाए पनि
सांस्कृतिक सक्ता चलाईरहेछन् साहित्यि जम्दारहरु
एक दिन यो शहरमा हुने जम्दारको अभिनन्दन
उर्लनेछ पूरै शहर
विषेशाङ्क छाप्ने छन् अखवारहरुले
विमोचन हुँनेछ अभिनन्दन ग्रन्थ
अभिनन्दन समितिको संयोजकमा
क्रान्तिकारी कविको नाम हुन सक्छ
आश्चर्य नमान्नुहोस्
उसै क्रान्तिकारी कवि कहाँ भईन्छ ?