आपूmले काम गरिरहेको संस्थाको कार्यक्रम लिएर लुना सदरमुकामबाट गाउँ हिँडेकी छे । ऊ बसको अगाडिकै सिटमा छे । बसमा मान्छे अटाईनअटाई छन् । हल्ला बेसी नै चलेको छ । अर्थ लाग्ने र तर्कका कुरा एउटै छैनन् । खालि बकम्फुसे कुरामात्र । केटाहरू छिल्लिएर बोलेको सुन्छे लुना । तिनले सीमै नाघेका छन् ।
बस घ्यार्रघ्यार्र गरी लम्केको छ । लुना आफ्नै सोचाइमा छे । कार्यस्थलमा गर्ने कामको लामो लिस्ट उसको अगाडि आउँछ ः पहिले गाउँका अगुवाहरूलाई जम्मा गर्ने । कार्यक्रमको जानकारी दिने । उनीहरूमार्फत सबैलाई बोलाउने । तालिम चलाउने । कार्यप्रगति विवरण जिल्ला शाखामा पठाउने । आखिर एनजीओ र आईएनजीओको कामै कागजमा कलम दौडाएर रकम झ्वाम पार्ने हो ।
कुर्कुरे उमेरमा कसैसँग एक छिनको मजाका लागि फसेको भए ऊ बर्बाद भइसक्ने थिई— न पढाइ न जागिर । लोग्नेमान्छेको दासीमात्र ।
ऊ पनि कागजी घोडाले बोकेकै तलब खान्छे । काम न सामको तलबमात्रै । यस्तो देख्दा लुनालाई पनि जागिर खाइरहन मन थिएन । तर, बल्लबल्ल भेटेको जागिर कसरी छोड्नु !हल्लाखल्लाले आजित बनाएको छ लुनालाई । हल्लाबाट पार पाउन कानमा एयरफोन खाँद्छे ऊ । र, मोबाइलको मेमोरीमा गीत खोजेर प्ले गर्छे । गीत बज्छ, ‘हम दोनो दो प्रेमी दुनियाँ छोड् चले ।’
लुना ‘दोनो’ भएकी छैन । तर, उसलाई यही गीत असाध्यै मन पर्छ । पहिला स्कुले जीवनमा एक–दुई केटा प्रेम प्रस्ताव लिएर आएका थिए । उसले ठाडै इन्कार गरेकी थिई । प्रेमस्रेमको मामिलामा लुना एककिसिमले कमजोर देखिई ।यो वैंशालु उमेरमा पनि लुनाका कोही प्रेमी वा केटा साथी छैनन् । बनाउने प्रयास गरेकी पनि छैन । केटा साथी वा केटी साथी हुनैपर्छ नभए इज्जतै जाने जस्तो कुरा गर्छन् अहिलेका ठिटाठिटी । तर, ऊ यस्तो प्रवृत्तिको विपक्षमा छे । कुर्कुरे वैंशबाट जोगिएर यो उमेरमा आएकी छे । अब त उसलाई केटा देख्दा त्यस्तो केही फरक अनुभूति हुँदैन ।
उमेरले २० काटेपछि मानिसमा एककिसिमको परिपक्वता आउँदो रहेछ । विचारेर मात्रै निर्णय गर्ने क्षमता वा विचार विकसित हुँदो रहेछ । कुर्कुरे उमेरमा कसैसँग एकछिनको मजाका लागि फसेको भए ऊ बर्बाद भइसक्ने थिई— न पढाइ न जागिर । लोग्नेमान्छेको दासीमात्र । बच्चा जन्मा, हुर्का, पढा, घरधन्दा गर, पतिव्रता बन् । आदि इत्यादि ।
एकैछिनमा के–के कुरा खेल्छ लुनाको मनमा । व्यवस्थापन गर्नै गाह्रो हुन्छ । मनलाई स्थिर गर्न खोज्छे । सक्दिन । उसको मन मनोद्वन्द्वमा फस्छ ।केटाहरू उसैगरी छिल्लिरहेकै छन् । छिल्लिन उनीहरूलाई समाजले छुट दिएको छ । शहरमा त छिल्लिन्छन्, छिल्लिन्छन् । तर, त्यो ग्रामीण बस्तीको बाटोमा पनि केटाहरू निर्लज्व छिल्लिएका छन् । ऊ बेलाबेला एयरफोन हटाएर सुन्छे ।
वयस्क एउटी महिला भन्छे, ‘सक्छौ के आँट गर्न ?’
मेरीबास्सै ! महिलाले थोरैमात्र के मन खोलेका थिए, लोग्नेमान्छे इतरिन्छन् । वयस्क लोग्नेमान्छे नै ठट्टा गर्न तम्सिछन् ।
एउटाले भन्छ, ‘के नसक्नु ! बोकेरै भए नि लैजाउँला हो । कता जाने मन छ ? जंगलतिर कि हाम्रै घरतिर ?’
लौ, अबचैं सुनिसक्नु भएन ।
पक्की बाटो सकिएपछि बस कच्चीबाटो र उबडखाबड बाटोमा ठसठस्ती कन्दै उकालो लाग्छ । मानिसहरू चढ्ने र ओर्लने क्रम चलेकै छ । को को चढे, कति चढे, उसले वास्ता गरेकी छैन । चिनेकी पनि छैन उसले । अत्यन्त साँघुरो कच्ची बाटोमा ड्राइभरलाई गाडी चलाउन निकै गाह्रो भएको छ । ड्राइभरले गाडीको स्टेयरिङ मरीमरी बटारेको हेरिरहेकी छे लुना । सोच्छे— ड्राइभरले अलिकति लापरवाह गर्दिए भने को नै बाँकी रहन्थ्यो र ! मानिसहरू ड्राइभिङलाई त्यति इज्जतिलो पेशा मान्दैनन् । तर, यिनले स्टेरिङ नसमाते देशै चल्दैन ।
बस जोल्टिङ खाँदै उकालो चढ्दै छ । लुनाको कानमा गीत बजी नै रहेको छ । ऊ बेस्मारी झुमिछे, निदाइछे मज्जाले । सँगैको केटाले आफ्नो टाउको उसको छातीमै टाँसेछ । निदाएको बहाना बनाएको हो वा साँच्चै निदाएरै लोलाएको हो, पत्तो पाइन । केटाको टाउकाको थिचाइले ऊ बिउँझिन्छे । तर, उसले त्यो केटालाई केही भन्न सक्दिन । केटा रातो मुख पारेर सामान्य हुन खोज्छ । लुनाले सोची ः मैले आफूलाई त्यसरी फुक्काफाल छाड्न नहुने नि !
उसलाई अप्ठ्यारो पनि लाग्छ । फेरि सोच्छे— कोही चिनेजानेको मान्छेले देखेको भए ? अँ, ठीकै छ, बसको यात्रा हो । सबैलाई आफन्तै मान्नुपर्छ । म आफैं उसको छातीमा झुम्न पुगें त उसले के गरोस् ?आफूलाई सामान्य बनाउँदै ढोकातिर हेर्छे लुना । २०–२२ को उमेरकी एउटी महिला ढोकाको छेवैमा छे । त्यसको अनुहार हेरिनसक्नु भएको छ । ‘वाक वाक’ गरिरहेकी छे । वान्ता गर्दागर्दा उसको ज्यान शिथिल भएको छ । फुंग उडेको अनुहारले त्यही कुराको संकेत गरेको छ । बोल्न पनि नसक्ने । अनुहारभरि लेग्रैलेग्रा । कपालले अनुहारको आधा भाग ढाकेको छ । एक्लै भेट्दा तर्साउनेजस्तै देखिएकी छे । उसले बसको ढोकाछेउको थाम समातेकी छे । छादजति भुइँमा छ ।
खलाँसी उसैलाई भन्दै छ, ‘दिदी, तिम्रो छाद तिमी नै सोर है ! आउन लागेपछि प्लास्टिक माग्नु पर्दैन ?’
ऊ बोल्दिन । फेरि भित्रैबाट कुँडुलिएर आएछ क्यार । ह्वाल्लै पारिदिन्छे । उसको छेउमा उभिएका धेरै मान्छेको जिउमा वान्ताको छिटा पर्छ ।
एकजना कराउँछ, ‘यस्ताले के बस चढ्नु ? ठमठमी हिँडे भैहाल्यो नि ! अर्काको समेत लुगा बर्बाद ।’
धेरै यात्रुले उसलाई निकै छेडछाड गर्छन् तर उसले सुनिन या सुन्न चाहेकी छैन । सुनेर पनि बोलिन या बोल्न सकेकी छैन । लुनाले कुराको चुरो पत्तो पाएकी छैन । ऊ बोल्न सक्ने अवस्थामै थिइन । उसको ब्याग भुइँतिर झरेको छ । काखमा सानो बच्चा च्यापेकी छे । एक हातले बच्चा र अर्को हातले थाम समातेकी छे । उसलाई अडिन निकै गाह्रो परेको छ ।ऊ लगातार बान्ता गरिरहेकी छे । मुखबाट अन्नको साटो पानीमात्र आउन थालेको छ । हरियो लेउमात्र छाद्छे ऊ । बसैभरि छाद गनाएको छ । धेरैले नाक छोपेका छन् ।
‘कत्ति न कहिल्यै बसमा नछाद्ने देखिन खोजेका होलान् । एकचोटि पनि बसमा नछाद्ने को होला र ?’ लुनाको मनले ढोकाकी केटीको पक्ष लिन खोजे पनि छादको गन्धले उसलाई पनि उक्उक् हुन आँटेको छ । खुकुलिएको मास्क उसले मुखमा अझै कस्छे ।महिलाको बच्चा रुन थाल्छ । बेस्सरी रुन थाल्छ । आमाको काखैबाट खसूँलाझैं मडारिएर रोइरहेको छ । आफ्नो बच्चा रोएको पनि थाहा नपाएजस्तो ऊ वाक्वाक् गरिरहेकी छे ।
बच्चा रोइरहेकै छ । अहँ, कसैले वास्तापास्ता गरेको छैन । उसले एक हातले बच्चालाई दह्रो गरी समातेकी छे । तर, बच्चा उसको अँगालोमा बाँधिन मानेको छैन । आमाको छातीमा टाउकाले हान्दै बच्चा दूध माग्दै छ ।छाद्दा–छाद्दै ऊ बेहोशै होलीजस्ती देखिएकी छे । उसमा आँखा खोलेर बच्चालाई पुलुक्क हेर्ने तागत पनि छैन । उसको काखबाट बच्चा झर्ने अवस्था पुग्छ । लुनाको मन कताकता भित्र दुख्न थाल्छ । सोच्छे— हातबाट बच्चा खस्यो भने ? बसको ढोकाबाट झर्न पनि सक्छ ।
उसकै छेउमा छे लुना । हतार हतार बच्चालाई तान्छे । काखमा राख्छे । आफ्नो बच्चा कसले तानेर लगेको छ, आमाले थाहै पाएकी छैन । हेर्न पनि सकेकी छैन । अनुहारको रूपरंग ¥याल र सिँगानले बिगारेको छ । ऊ ‘हँ ऽऽ हँऽऽ’ मात्र गरिरहेकी छे ।
फेरि खलाँसी कराउँछ, ‘ए दिदी, तिमी माथि जाऊ । खसौली । तिमी त मछ्र्यौ मछ्र्यौ, हामीलाईं पनि पारौली ।’
खलाँसीको आदेश शायद उसले सुनेकी छैन ।बच्चा लुनाको काखमा आएपछि रुन छाड्छ । आँखा घुमाएर वरिपरि हेर्छ । मुसुक्क हाँस्छ । लुनाको घाँटीको माला खेलाउन थाल्छ । ‘चाचा, चाचा’ भन्न थाल्छ । लुना बच्चाको अनुहार मुसार्छे । आहा ! कति नरम ! मनमनै भन्छे ।
बच्चा सकसक गर्न थाल्छ । यताउति छाम्छ । लुनाको छातीमा टाँसिएर स्याँस्याँ गर्न लाग्छ । फेरि रुन थाल्छ । रुवाइ बढ्दै जान्छ । नजिकै बसेको ठिटो भन्छ, ‘दूध ख्वाउनुस् न बैनी । बच्चा त्यसरी रुँदा पनि तपाईं वास्तै नगर्ने ? बच्चा रोएपछि दूध चुसाउनु पर्दैन ?’
लुना पुलुक्क त्यो केटालाई हेर्छे । लाज लाग्छ । बोल्दिन । बच्चाको रुवाइ चर्किंदै जान्छ । उसकी आमा बसको ढोकाछेउको फलामे बिम समातेर लोलाएको लोलायै छे । उसको वान्ता अलि कम भएको छ । बच्चा रोएकोरोयै छ– पूरै बस थर्किने गरी । के भनेर फुल्याउने ? के गर्दा बच्चा फुलिन्छ ? लुनाले यताउता हेर्छे ।
लुना आफूले ओडेको सल सरक्क पन्छाउँछे । बच्चाको टाउको छातीमा टाँसेर सलले छोप्छे । बच्चा दूध खोज्न थाल्छ । भेट्छ । मुन्टोमा मुख लगाउँछ र बेस्मारी तान्न थाल्छ । बच्चाको रुवाइ बन्द हुन्छ ।बच्चा कुमारी स्तन चुस्दै जान्छ । लुनाको शरीरमा फरक तरंग तरंगित हुँदै जान्छ । कुमारी स्तनबाट दूध आउने कुरा भएन तर ऊ तानेको तान्यै छ । लुनालाई थोरै कुत्कुती लागेको छ । तर, बेग्लै अनुभूति भएको छ । आमा बनेको अतुलनीय आनन्द महसुस गरेकी छ । बच्चा आनन्द मानेर कहिले देब्रे त कहिले दाहिनेतिर तान्दै छ, दूधै आएझैं ।
एक्कासि बच्चाकी आमाको आँखा खुल्छ । आफ्नो बच्चा देख्दिन, आत्तिन्छे । छेउकै सिटमा देख्छे । अनुहारमा खुसी देखिन्छ । बोल्ने तागत छैन । बच्चा आफूतिर तान्छे । गाडी रोक्न लगाउँछे । भाडा तिर्छे । बच्चा लिएर हिँड्छे । पर पुग्दा पनि बच्चा हातले बसतिरै देखाइरहेको छ ।लुना तन्द्रामा रहिछे, झसंग हुन्छे । बच्चालाई हेरिरहन्छे । उसलाई आफ्नै बच्चा कसैले खोसेर लगेझैं लाग्छ । उसको मन एक तमासको हुन्छ । छाती भारी भएर आउँछ ।
बस हिँड्छ । लुना झ्यालबाट हेर्छे । त्यो महिला नानी च्यापेर सडकबाट गोरेटोतिर झर्न लाग्छे । लुनालाई आफ्नो छाती बेस्मारी चर्किएझैं लाग्छ ।