दीप युनाइटेड क्लबको सातौँ संस्करण दीप साँझ कात्तिक २१ गते हुने भएको छ । लक्ष्मीपूजाका दिन हुने साँझको तयारी अन्तिम चरणमा पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
क्लबले भवन निर्माण गर्ने, पोखरा १६ सेतीमार्गमा निर्माणधीन बहुउद्देश्यीय पार्कमा बाल तथा वृद्धमैत्री संरचना निर्माण गर्ने, ६० वर्ष उमेर पुगेका वृद्धा आमालाई १ दिने धार्मिक भ्रमण गराउने र युवा लक्षित सचेतना कार्यक्रम गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको संयोजक राजेश गुरुङले जानकारी दिए ।
उनले नेपाली संस्कृतिको जगेर्ना, संरक्षण तथा प्रवद्र्धन गर्ने, सामुदायिक एकतामा जोड र भातृत्वको भावनामा वृद्धि गर्न साँझलाई निरन्तरता दिएको उल्लेख गरे ।
साँझमा गायक नवीन के भट्टराई, गायिका इन्दिरा जोशी, सन्ध्या बुढा (काउली बूढी), ड्रिमर्ज ब्यान्ड, लेजेन्ड ब्यान्ड लगायत चर्चित कलाकारको प्रस्तुति रहने क्लबका सचिव रामप्रसाद सुवेदीले जानकारी दिए ।