फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) कास्कीको आयोजनामा पोखरामा हुने प्रदेश स्तरीय चौथो गोदावरी प्रदर्शनी एवं पुष्प व्यापार मेला २०७५ को तयारी पूरा भएको छ । कात्तिक १६ देखि १९ गतेसम्म हुने मेला आयोजक समितिले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
पोखरा सभागृह परिसरमा ३० भन्दा बढी स्टलमा ४ सय ५० प्रजातिका फूल विरुवाको प्रदर्शनी हुने फ्यानका निवर्तमान अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए । उनले पोखरेली फूल पारखीलाई तिहारको बेलामा सयपत्री फूलसमेत स्टलबाटै उपलव्ध गराउने बताए ।
स्वदेशी फूलको कारोबार बढाउन र विदेशी फूलको आयात घटाउन मेलाले सहयोग गर्ने उनले बताए । हाल नेपालमा ७५ प्रतिशत फूल उत्पादन भए पनि अझै २५ प्रतिशत फूल विदेशबाट आयात हुने उनको भनाइ छ ।
मेला गर्न ७ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने निवर्तमान सचिव बलराम श्रेष्ठले जानकारी दिए । मेलामा नेपाल सरकार भूमि कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश, पोखरा महानगरपालिका कार्यालय र फ्यान केन्द्रीय समितिले सहयोग गर्ने फ्यान कास्कीले जनाएको छ ।