किन बढ्यो एक्याप प्रवेश शुल्क ?

अन्नपूर्ण क्षेत्र पदयात्रामा जाने पर्यटकले तिर्नुपर्ने शुल्क बढेपछि यहाँका पर्यटन व्यावसायीले आपत्ति जनाएका छन् । उनीहरुले अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टर उडान नरोकिएकोमा पनि रोष प्रकट गरे ।

पर्यटकीय सिजनको समय पारेर शुल्क बढाएको भन्दै व्यवसायीले बढेको शुल्क लागू नगर्न सरोकारवालालाई आग्रह गरेका छन् । पोखरा पर्यटन परिषदले यहाँ सरोकारवालासँग आयोजना गरेको छलफलमा व्यवसायीले नयाँ शुल्कले पर्यटन आगमनमा गिरावट हुने चिन्ता जनाए । कम्तीमा ६ महिना समय राखेर शुल्क बढाउनुपर्ने उनीहरुको सुझाव छ ।

२०२० मा २० लाख विदेशी पर्यटक भिœयाउने सरकारको लक्ष्य असफल हुने चिन्ता

परिषदका उपाध्यक्ष गोपी भट्टराइले सरकारको २०२० मा २० लाख विदेशी पर्यटक भिœयाउने लक्ष्य सरकारकै कारण असफल हुने दाबी गरे । ‘पर्यटक बढाउनुपर्ने बेला अनेक शुल्क लिन थालिएको छ । यसले आगमन बढ्दैन, घट्छ,’ उनले भने, ‘बरु एक पटक अनुमति लिएर पटक पटक अन्नपूर्ण क्षेत्र घुम्न जान दिने गरी नयाँ व्यवस्था गर्नुपर्छ ।’

परिषद्का महासचिव डिल्लीप्रसाद गौतमले आजको भोलि शुल्क बढेको भन्दै आपत्ति जनाए । व्यवसायीसँग छलफलै नगरी रातारात शुल्क बढाएको भन्दै उनले आपत्ति जनाए । ‘व्यावसायीको पनि चाहना बुझ्नुपर्छ । आजको भोलि शुृल्क बढाएर सिजनका बेला सरकारले पर्यटन आगमनमा अवरोध गर्न खोजेको हो,’ उनले भने, ‘छलफलबिना बढाएको नयाँ शुल्कले राम्रो गर्दैन ।’

एक्यापका आयोजना प्रमुख राजकुमार गुरुङले पर्यटकका लागि शुल्क बढाउने प्रस्ताव नयाँ नभई पुरानो भएको बताए । यो पटक लागूमात्र भएको उनले बताए । सन् २०११ देखि नै शुल्क बढाउने प्रयास भएको पनि उनले बताए । ‘सिजनका बेला बढेको शुल्कले असर पारेको छ । यसबारेमा हामी पनि गम्भीर छौं । तर सरकारले राजपत्रमा प्रकाशित गरेपछि हामीले कार्यान्वयन गर्नैपर्छ,’ उनले भने ।

उनले नेपाली पदयात्रीलाई पनि शुल्क लाग्ने नयाँ प्रावधान भए पनि त्यसलाई व्यवस्थापन गर्न गाह््रो भएको बताए । स्थानीयबासीलाई भने यो शुल्क लाग्दैन । एक्याप यो क्षेत्रमा हेलिकोप्टर उडान रोक्न असफल भएको उनले बताए । ‘हामीले बारम्बार रोक्न प्रयास गरेका हौं, तर सकेका छैनौं,’ उनले भने । एक्यापका अनुसार पदयात्रामा जाँदा अब नेपाली नागरिकले प्रतिव्यक्ति १ सय रुपैयाँ तिर्नुपर्ने छ । सार्कका सदस्य देशका नागरिकले प्रतिव्यक्ति १ हजार र अन्य विदेशीले प्रतिव्यक्ति ३ हजार रुपैयाँ शुल्क तिर्नुपर्ने छ । यसअघि नेपाली पदयात्रीलाई शुल्क लाग्दैनथ्यो । सार्कका नागरिकले प्रतिव्यक्ति २ सय र अन्य मुलुकका पर्यटकले २ हजार रुपैयाँ तिर्नुपर्दथ्यो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले एक्यापले स्थानीय तहसँग मिलेर काम गर्न नसकेको आरोप लगाए । उनले बढेको नयाँ शुल्क लागू् गरे आफूहरु नै एक्याप विरुद्ध उत्रने चेतावनी दिए । ‘स्थानीय सरकार सञ्चालन ऐन विपरीत काम भएको छ,’ उनले भने, ‘यो हामी सहन सक्दैनांै ।’ कुवँरले उद्धार र राहतमा बाहेक अन्य प्रयोजनमा हेलिकोप्टर उडान गर्न नदिने बताए ।

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले पदमार्ग जोगाउनुपर्ने बेला आएको टिप्पणी गरे । उनले सरकारले स्थानीय तहसँग समन्वय नगरी शुल्क बढाएको भन्दै आपत्ति जनाए । त्यस्तै आधार शिविरमा हेलिकोप्टर उडान नरोक्ने हो भने पदमार्ग रोक्नुपर्ने अवस्था आउने पहारीले उल्लेख गरे । उनले एक्यापले शुल्क बढाउने हो भने पर्यटकलाई पनि थप सुविधा दिन सक्नुपर्नेमा जोड दिए ।

माछापुच्छ«े गाउँपालिका अध्यक्ष कर्ण गुरुङले संरक्षित क्षेत्र पुरानै शैलीमा चलेको आरोप लगाए । उनले मुलुकमा राजनीतिक परिवर्तन भए पनि केही निकाय पुरानै शैलीमा चल्दा समस्या निम्तिएको बताए । पर्यटन बोर्डका म्यानेजर सूर्य थपलियाले सार्वजनिक सम्पत्ति व्यवस्थापन र हस्तान्तरणमा विवाद हुन थालेको बताए ।

गण्डकी प्रदेशका पर्यटन मन्त्रालयका सचिव विष्णुप्रसाद भण्डारीले सरकारले लागू गरेपछि नयाँ नियम लागु हुने जनाए । उनले पोखरा र आसपासका क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सरकार गम्भीर रहेको उल्लेख गरे । परिषद्का निवर्तमान अध्यक्ष केदार शर्माले सरकारले बिना छलफल नयाँ नियम लादेको भन्दै आपत्ति जनाए । उनले पनि आधारशिविर क्षेत्रमा हेलिकोप्टरको व्यापारिक उडान रोकिनुपर्ने विचार राखे ।
टानका अध्यक्ष हरि भुजेलले पदमार्गमा शुल्क बढाउँदा पर्यटक आगमन खस्किने बताए । त्यस्तै सिजनका बेला शुल्क बढाउँदा पर्यटकलाई भन्दा पनि व्यावसायीलाई मर्का पर्ने उनको भनाइ छ । महिनौंअघि प्याकेज बेचेका व्यावसायीले एकाएक नयाँ शुल्क लिँदा पर्यटकले नै शंका गर्ने ठाउँ पाएको उनको गुनासो छ । परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटक प्रवद्र्धनमा राज्यको उचित सहयोगको खाँचो औंल्याए ।