ताराखोला गाउँपालिका–४ छम्टुमा ५० लाख लागतमा माछापालन सुरु गरिएको छ । ‘ताराखोला बहुउद्देश्यीय रेम्बो ट्राउट माछा फार्म’ स्थापना गरी नौ पोखरीमा माछापालन थालिएको छ ।
सञ्चालक सुवास राजभण्डारीले अझै १० पोखरी थप्ने योजना सुनाए । सो फार्ममा गण्डकी प्रदेशसभा सदस्य दीपा रोका, ताराखोला गाउँपालिका–४ का वडाध्यक्ष जीतबहादुर खत्री र पदम खत्रीको समेत लगानी छ । जग्गा खरिद र संरचना निर्माण गर्न ५० लाखभन्दा बढी खर्च भएको राजभण्डारीले बताए । ‘पोखरीमा छाडिएका माछा २ महीनापछि बिक्री गर्न सकिनेछ,’ उनले भने ।
६ महिनाअघि पोखरीमा १३ हजार रेम्बो ट्राउट जातको माछाको भुरा छाडिएको छ । हाल ७ हजार भुरामात्र पोखरीमा छन् । भुरा नुवाकोटबाट खरिद गरेर ल्याइएको हो । १ भुराको मूल्य १२ रुपैयाँ परेको बताइएको छ । जापानी प्रजातिको रेम्बो ट्राउट माछा स्वास्थ्यका लागि उत्कृष्ट मानिन्छ । बजारमा यसको माग अत्यधिक छ । ‘तयार नहुँदै माग आउन थालिसक्यो,’ सञ्चालक खत्रीले भने ।
हाल उत्पादन भएको माछा गाउँमै खपत हुने गरेको छ । प्रतिकिलो १ हजार १ सयमा माछा बिक्री भइरहेको छ । ठूला होटल तथा रेष्टुराँको रोजाइमा ट्राउट माछा पर्ने गरेको छ । माछापालनसँगै छम्टुमा होटल, रेष्टुराँ खोल्ने लक्ष्य व्यवसायीको छ । ‘थप पूर्वाधार निर्माण गरी पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना छ’, खत्रीले भने ।
फार्ममा ४ जनाले रोजगारी पाएका छन् । माछापालनसँगै स्थानीय जातको कुखुरापालन पनि यहाँ सुरु गरिएको छ ।