सबा २ लाखको आँखा शल्यक्रिया

नेपाल नेत्रज्योति संघअन्तर्गत सञ्चालित यहाँको फत्तेबाल आँखा अस्पतालले अहिलेसम्म २ लाख २८ हजार ६ सय ६५ जनाको आँखाको शल्यक्रिया गरेको छ । अस्पतालका प्रबन्धक कौशलकुमार वर्माका अनुसार ३२ वर्षको अवधिमा अस्पतालले २० लाख ४६ हजार बिरामीको आँखा जाँच गरेको छ ।

यसका अलावा अस्पतालमा विभिन्न समयमा अलग अलग स्थानमा सञ्चालन गरेको शिविरमा १२ हजारभन्दा बढीको आँखा जाँच र ३ सय ८४ जनाको शल्यक्रिया गरेको जनाइएको छ ।

सो आँखा अस्पतालअन्तर्गत सुर्खेतको मेहलकुना, दैलेखको दुल्लु, डोल्पाको जुफाल र बर्दियाको सानोश्रीमा गरी ८ आँखा उपचार केन्द्र सञ्चालनमा छन् । “यी आँखा उपचार केन्द्रमा अत्याधुनिक उपचार पद्धतिको विस्तारको तयारी हामीले थालेका छौं ”, संघका बाँके जिल्ला अध्यक्ष रतन टण्डनले भने ।

अस्पतालले पूर्णकालीन ओपिडी, पेइङ क्लिनिक, फास्टट्र्याक शल्यक्रिया, औषधि र चश्माको उपलब्धता, प्याथोलोजी, नेत्र सहायकस्तरको जनशक्ति उत्पादन तथा कलेज सञ्चालन गर्दै आएको छ ।

अस्पतालका सचिव शान्ति श्रेष्ठले भारतीय राजदूतावासको ५ करोड र जिल्ला समन्वय समितिको परिपूरक सहयोग १ करोड ४५ गरी ६ करोड ४५ लाखको लागतमा आधुनिक शल्यक्रिया कक्ष, वार्ड, बिरामीका लागि निजी कक्ष, चिकित्सक आवासलगायतका संरचना निर्माण भइरहेको जानकारी दिए ।