आज अक्टुबर ४ तारिक विश्व पशु पंक्षि दिवस हो । यो दिवस सन् १९३१ देखि मनाइदै आए पनि नेपालमा सन् २००८बाट मनाउन थालिएको पाइन्छ। विभिन्न संघ सस्थाको आयोजनामा विविध कार्यक्रमहरुको साथ यो दिवस मनाउने गरेको पाइन्छ । विविध पशु पंक्षि भएको तथा पशु पंक्षिको पूजा गर्ने हाम्रो परंपरामा यस दिवसको छुट्टै महत्त्व रहेकोछ । पशु पंक्षि र मानवबीचको घनिष्ठ सम्बन्ध अनाधिकालदेखि रहदै आएकोछ।नेपालमा पशु पंक्षि हित ,वन्यजन्तु संरक्षण, अमानवीय रुपमा पशु बध, पीडादायी रुपमा पशु ढुवानी जस्ता पक्षमा कानुनी प्रबन्ध गरिएको पाइन्छ । वन्यजन्तु आरक्ष तथा निकुञ्जको स्थापना र संरक्षण गर्ने कार्य पनि भएकोछ । विश्व बाघ दिवस मनाउनेदेखि बिशेष वन्यजन्तु गणना गर्ने काम पनि भएकोछ ।आर्थिक,पर्यटकीय, परावरणीय, धार्मिक बैज्ञानिक जेसुकै कारणले भए पनि पशु पंक्षिको संरक्षणमा विश्व लागेको देखिन्छ । यस दिवसको अवसरमा हाम्रो धर्म संस्कृति परंपरा र प्रचलनमा बलि प्रथा , यसमा रहेको भ्रम बारे थोरै भए पनि सवार गराउने जमर्को गरिएको छ ।
भगवानलाई खुसी बनाउन बिभिन्न खानेकुराको परिकार, पशु पंक्षि तथा अन्य प्रीय वस्तु अर्पण गर्ने काम बलि हो। खाना खानु अगाडि परिकारका थोरै थोरै अंश छुट्टै पात वा चोखो ठाउँमा बलि हाल्ने( चडाउने) चलन रहेकोछ। नरिवल फुटाएर वा कुभिण्डो काटेर पनि बलि दिइन्छ।मानव सभ्यताको विभिन्न काल खण्डमा मानिसको बलि अर्थात नरबलि दिने प्रचलन संसार भरि नै रहेको प्रमाणहरु छन् । पशुबलि र हिन्दु धर्म प्रवेश गर्नु अघि नरबलिको छोटो परिदृश्य प्रस्तुत गर्न चाहन्छु । अहिले पशुबलि दिए झै कुनैबेला नरबलि दिने गरिन्थ्यो । मिश्रमा राजाको मृत्यु भएमा राजाले अर्को जन्ममा पनि कर्मचारी र सेवकहरुको अभाव नहोस् भनि प्यारा सेवकहरु तथा सबै तहका कर्मचारीहरुको बलि दिएर राजासंगै परलोकको राज्यमा पठाउने गरिन्थ्यो ।परलोक पठाइनेमा राजाका घरेलु सामान र रखेलहरु पनि पर्दथे।मेसोपोटामियामा पनि शासकको मृत्युमा माथिल्ला बर्गका मानिसहरुलाई विष पिलाएर र नोकर चाकरहरुलाई धारिलो हतियार सिरबाट घुसाएर तडपाई तडपाई बलि दिएर संगै पठाउने काम गरिन्थ्यो । प्राकृतिक प्रकोप नहोस् भनि संसारको धेरै ठाउँहरुमा नरबलि चडाउँने गरिन्थ्यो ।
कुनै यस्ता संप्रादाय पनि छन् जसले लुकिछिपी जुनसुकै कारणबाट भए पनि धेरै हताहत गराउन सके धर्म कमाउने ठान्दछन् भनिन्छ । गिनिज बुक अोड रेकर्ड अनुसार ठगि पन्थले बीस लाख व्याक्तिको मृत्युको जिम्मेवारी आफुले लिएका थिए। नेपालको नरदेवी मन्दिरमा मानिसको बलि दिने हाम्रो ईतिहास नै छ । कयौ ठाउँमा मानिस बासको झाडि भित्र छिरि शरीरभरि घाउ बनाइए निस्केको रगत भगवानलाई चडाउने गर्दछन् । औठा काटि रगत निकाली प्रेमिकालाई टीका लगाउने तथा रगतले चिठी लेख्ने पनि बलि कै रुप मान्न सकिन्छ । पशु पंक्षिको बलि दिने प्रथा धेरै धर्ममा रहेको पाइन्छ। इस्लाम धर्मावलम्वीको दोस्रो ठूलो चाड वकरमा हज र कुर्वानीको रुपमा रागा बाख्रा भेडाको वलि दिइन्छ ।
यसरी दिएकोबलिको मासु एक भाग आफुलाई एक भाग आफन्तलाई र एक भाग गरिब गुरुवालाई भाग लगाउनु पर्ने भन्ने छ। बौद्ध धर्म मान्नेले पनि आफुले जीवहत्या नगर्ने तर मासु खाने गर्दछन् । रागा भेडा बाख्रा काटने कोहि नभएको ठाउँमा यस्ता जनावरलाई लखेट्दै भीरबाट खसालि मरे पछि काटेर खाने गर्दछन् ।देवतालाई प्राविधिक रुपले सोझै बध नगरेको देखाएर छारो हाले पनि यी पशुहरु अझ पीडादायीक रुपमा मारिन्छन् । अहिंसाका प्रतीक बुद्धको जन्म जयन्ती बुद्ध पूर्णिमाको रुपमा मनाइन्छ । बुद्ध पूर्णिमामा समेत पशु बलि दिनु जस्तो विरोधाभास कार्य अरु के होला ? यहाँ बिशेषत: हिन्दु धर्ममा पशु बलिप्रति भ्रम वा वास्तबिकताका केही पक्षहरुको उजागरण गर्न प्रयास गरिएकोछ।
हिन्दु धर्मका मूल ग्रन्थहरु वेद उपनिषद पुराण तथा गीतमा बलि प्रथा कतै उल्लेख नभएको प्रमाणहरु विद्वानहरुले दिइरहनु भएकोछ । बलि प्रथा स्थानीय संस्कृतिको देन हो भन्ने छ । हिन्दु धर्म एउटा ठूलो रुख हो । यस रुख भएको वरिपरि धेरै झारपात र लहराहरु उर्मन्छन् । यसरी उर्मेका केही लताहरु त्यस रुखमा बेरिदै माथिसम्म चड्न पुग्दछन् । बलि प्रथा भनेको एउटा लहरा हो जुन धर्मको रुखमा चडि माथिसम्म पुग्दा धर्मको रुपमा देखिएको मात्र हो भन्ने छ । शाक्त र तान्त्रिक संप्रदायमा बलि प्रथा बढी भएको पाइन्छ । वेदका मंत्र ऋचामा बलि प्रथा निषेध गरिएको पाइन्छ ।” अहिंसा परमो धर्म:” भन्ने नारा नै सर्वत्र चर्चा गरिएकोछ ।
पहिले अनुष्टान सात्विक हुने गर्दथ्यो । मन वचन कर्मले हिंसा कुभलो नगर्नु धर्म हो भनिएकोछ । कतिले ढुङ्गा रातो पेट तातो बनाउने निहुमा वैव्दिक कालमा पनि अश्वमेघ यज्ञ हुने गर्दथ्यो भन्दछन् । यस यज्ञमा घोडाको बध गरिन्थ्यो र सुरा (रक्सि) खाइन्थ्यो भनि तर्क गर्दछन् । हिन्दु धर्मका विद्धानहरुले अश्वमेघ यज्ञमा घोडाको बध न भै अश्व(घमण्ड)को बध गरिन्थ्यो भनेकाछन् । घमण्डको प्रतिक घोडालाई यज्ञस्थलमा ल्याई स्पर्श गरि भगाउने गरिन्थ्यो । यज्ञ गरिसके पछि यज्ञमा होम गर्ने सुरालाई सुघिन्छ । यसैलाई बन्गाएर ” सुरपान” भनेको रक्सि खाने भनेको भन्ने तर्कलाई पनि कुतर्क ठानिएकोछ ।कयौं पुस्तकहरुमा मांस पाकेको अर्थ मासु पाकेको नभै फलको भित्रि भागसम्म पाकेको भन्ने अर्थ लगाइएकोछ । हिन्दु धर्म लचिलो भएकाले आफुलाई अनुकूल हुनेगरि व्याख्या र सरलिकरण हुँदै आएको पाइन्छ ।
उत्तरी चीसो ठाँउमा बस्ने हिन्दुहरुलाई मासु खानु पर्ने बध्यताले “दक्षिय मातुली कन्या उत्तरे मांस भोजनी” भनि दक्षिण भारतमा मामाकी छोरी बिवाहा गर्न हुने र उत्तरी भेगमा मासु खान हुने गरि फुकाइएको पाइन्छ । कुनै चीज खानु अघि देबतालाई चडाएर मात्र खानु भन्ने विधान भएकाले बलि चडाएर मासु खाने प्रचलन विकास भएको हो भनिन्छ । चाडपर्वमा धेरै मासु खानेहुदा बलि प्रथा चलेको हुनु पर्दछ ।एकादशीमा मासु खान नहुने भन्ने छ ।दशैमा धेरै बलि दिने हुदा दशैको दिन नै सबै मासु खाई नसकिने हुन्छ ।त्यसैले दशैको भोलीपल्टको एकादशीमा पनि मासु खान मिल्ने गरि त्यो एकादशीको नाम ” गिध्दे एकादशी” राखिएको पाइन्छ । दशैको भोलीपल्ट एकादशी भए पनि गिध्दले झै मजाले मासु खान मिल्दछ ।आजभोलीको जस्तो मासु राख्ने फ्रिजको व्यवस्था हुन्थ्यो भने त्यो एकादशीमा पनि अन्य एकादशीमा जस्तै मासु खान नमिल्ने हुन्थ्योहोला ।कयौं जनजातीहरुमा गाईको बलि दिने प्रचलन रहेको भन्ने पनि छ ।
हिन्दु धर्मको प्रभाव तथा कानुनी अडचनले यो प्रथा रोकिन गएको हुनु पर्छ ।अहिले सांकेतिक रुपमा गाईको दाम्लो काटि गौ बलिको विधान पूरा गरेको प्रतीक हुन्छ । वैदिक कालमा पनि तामसी अनुष्टान बलि दिएर पूरा गरिन्थ्यो भनिएकोछ । यसमा भूतको पूजा गरिन्थ्यो ।यो पूजा गर्ने वर्ग तुच्छ ठानिन्थ्यो । यस्ता व्याक्ति मृत्यु पछि भूतप्रेतको योनीमा जन्म लिने बताइएको छ ।” भूतानी यान्ति भूतज्य यान्ति मद्याजिनोsयिमाम्”आसुरी प्रवृत्तिको अन्त्यको लागि रावणको पुत्ला जलाउने प्रचलन पनि सांकेतिक बलिको एउटा रुप मान्न सकिन्छ ।भोजन गर्नु अघि भूत कुकुर र किरा फट्यान्ग्रालाई बलि चडाउनु भन्ने पनि पाइन्छ ।
नेपालमा धर्मको नाममा पशु पंक्षिको बलि दिने गरिन्छ । अहिले आएर जसरी छुवाछूत गर्नु राम्रो हो भन्ने कोहि नभए जस्तै पशुको बध गरेर धर्म हुन्छ भन्नेमा पनि कोहि बहस गर्न अग्रसर देखिदैनन् । तर पनि यी दुबै कुप्रथा चलिरहेकै छन् । शान्तिको प्रतीक परेवाका बचेरा मुख बाउदै र कलिला पाडा रक्ताम्य पार्दै घिसारी घिसारी मन्दिरतिर लादै गर्दाको दृश्यले जोसुकै मानिसको मनमा पनि एकपटक पीडाबोध हुन्छ ।रक्सि र मासु संसगै खानु पर्दछ । रक्सिले हाम्रो कलेजो छियाछिया पारि छोक्टा निकाल्दछ । मासु खाएमा त्यो चोक्टा निक्लेको ठाँउमा हामीले खाएको मासु गई टालिन्छ ; असर गर्दैन ।यस्तो दयानीय मानसिकता भएका व्याक्तिको हकमा बलि चडाउनाले मानसिक संतुष्टि दिन सक्ला । तर सभ्य शिक्षित र धार्मिक समेत हु भन्ने व्याक्तिहरुले पनि परम्परा र संस्कृति संरक्षणको नाममा बलि प्रथालाई अपनाइरहेको देख्दा टीठ लाग्दछ ।भूत झाक्री वनस्खण्डी बाई पिचास मुर्कट्टा आदि विभिन्न दर्जामा बिभाजन गरि बोका रागा सुँगुर भाले चल्ला अण्डा धुप धजा आदि चडाएर पूजा गरिन्छ । एउटा यस्ता बाजे पनि थिए जसले झाक्रीहरुलाई अंशवण्डा गरि छुट्टाइ दिएका थिए ।
सात भाइ झाक्रीहरु एउटै खिर्रोको रुख मुनिको थानमा बस्दा भाग नपुगेर झगडा गर्न थाले पछि जेठो झाक्रिलाई त्यहि जिउनी समेत दिएर राखि अन्य छवटा झाक्रीहरुलाई ठूला रुख मुनि र पहरा मुनि बासको व्यवस्था गरि दर्जा अनुसार बलि दिदै आइएकोछ ।मानिसको कान्छो छोरो बूढो घर बस्न पाए झै देवतामा त्यो हक जेठालाई हुन्छ रे । एउटा मगर बस्ती भएको गाउँमा आफ्नो इष्ट देवता तथा कूल देवता पूजामा दिने बलिमा गरिने बिधि साह्रै दुखदायी र अनौठो लाग्दछ ।उक्त पूजामा एउटा सुगुरलाई पछिका खुट्टा बाँधि झुन्डाइन्छ । त्यो सुगुरको नाक मात्र काटि रगत चुहाइन्छ । सुँगुर दिनभरि छटपटिएर जति पीडादायी तरिकाले साँझमा मर्दछ त्यति नै धेरै धर्म हुने बिश्वास गरिन्छ ।अर्को एउटा गाउँमा कूल पूजामा ठाडा सिंग भएको भेडाको साड माथि बूढो घरको ज्वाइमध्ये बलियो चाहि चड्दछन् ।
घरको मूल ढोकाबाट बलपूर्वक रातभरि त्यो भेडालाई भित्र बाहिर गराइन्छ । भेडो मरि सके पछि पनि बिहानसम्म घिसारी रहनु पर्दछ ।यी पीडादायक रुपमा पशु बलिका केही उदारणहरु हुन् । पशुलाई धेरै पीडा दिएर बलि दिने यस्ता सयौं तरिकाहरु नेपालमा प्रचलनको रुपमा रहेकाछन् ।कयौ बाहुनहरुले आफु मासु नखाने तर देवतालाई आफुभन्दा तल झारी सुँगुर रागाको बलि चडाउने गरेको पनि पाइन्छ । मनकामनामा पनि मन्दिर भित्रै बलि दिने चलन छ ।बैतडिको त्रिपुराशुन्दरी मन्दिरमा सयौं राँगाहरु लखेटदै तरवारले रोप्दै बलि दिइन्छन् । बाराको गडिमाई मेलामा माईलाई राँगा बोका सुँगुर कुखुरा गरि लाखौको संख्यामा बलि दिइन्छ ।सम्वबत: विश्व कै सबैभन्दा बढी पशु बलि दिने ठाँउ यो पर्दछ । एकै जनाले सबै पशु पंक्षि एक सय आठका दरले बलि दिने पनि गर्दछन् । अहिले धेरै जातीहरुमा कूल पूजा गर्ने प्रचलन बढेकोछ ।
कूल पूजा गर्ने काम आफैमा राम्रो भए पनि कसको बोको वा रागो ठूलो र कसका धेरै भन्ने प्रतिस्पर्धा बढेकोछ ।काठमाण्डौको भद्रकाली दक्षिणकाली गुहेश्वरी शोभा भगवती जस्ता शक्तिपीठहरुमा दशै र अन्य समयमा पनि धेरै बलि दिइन्छ । छोरा पाउन, वढुवा हुन, जागिर पाउन, बिदेश जान जस्ता मनोकाक्षां पूरा होस भनि भाकल गर्ने र बलि चडाउने कार्य नेपालको सबै ठाँउमा पाइन्छ ।आजभोली गाउँघरतिर देवी वा कुल उत्त्रेको अभिनय धेरै देख्न पाइन्छ ।भाइभाइबीच अंशबण्डाको झगडाको कारणले मनमुटाव छ भने वा बिभिन्न व्यक्तिको लुकेको कुकृत्य उजागरण गर्नु छ भने आफ्नो शरिरमा देवी चडि झाक निकालि भट्टाउने काम पनि भैरहेकाछन् । किहिल्यै धर्मको कुनै कर्म नगर्ने महिलाको शरिरमा कसरी देवी चड्यो ? सोचनीय लाग्दछ । यस्ता चडेका देवीलाई पनि अमानवीय तरिकाले पशु पंक्षि बलि दिने गरिन्छ ।
बलि प्रथाको झिनो समर्थन गर्ने व्यक्तिहरुले बलि दिनुको कारण देवीको शक्ति कायम राख्नु भन्ने छ ।जसरी बेट्रि समय समयमा चार्ज गर्न आवश्यक भए जस्तै देवीको शक्ति कायम राख्न बलि दिनु पर्छ भन्ने छ ।तर सामान्य थपडि बजाउदा पनि शक्ति संचय हुन्छ भनि माथिको तर्कलाई खण्डन गरिएको पाइन्छ ।तराईबाट कामाण्डौतिर ट्रकमा तडपाई तडपाई ढुवानी गरेका रागा भैसी, उधोमन्टो लगाएर झुण्डाएर लादै गरेका कुखुरा, काठमाण्डौमा छाडिएका साना बाच्छा तथा बुढा गाई, अव्यवस्थित बधशाला आदि यस्ता उदारणहरु हुन् जसले पशु पंक्षि प्रति गरिने अमानवीय व्यवहार प्रष्ट झल्कन्छ ।
छोरी र गाईलाई पुज्ने हाम्रो समाजमा प्रचलन रहेकोछ । जसरी छोरीलाई छोराको तुलनामा विभिन्न अवसरबाट बन्चित गरिन्छ त्यसै गरि घर चोखो पार्न गहुत गोबर र एक मुठी दुधका लागि पालिएका गाईको अबस्था भैसीको तुलनामा धेरै अमानवीय देखिन्छ । गोरुलाई निर्दयी रुपमा पिटेर काममा लगाइन्छ ।त्यसैले गोरु पिटे झै पिटुला भन्ने भनाइ नै रहेकोछ । बूढो गोरु पाल्ने तरिका पनि यमलोकमा पापीलाई जस्तै देखिन्छ ।भैसीका लैना पाडाहरु पनि यस धर्तिमा जन्म लिइ सकेपछि एक सर्को आफ्नो आमाको दूध खान नपाई राक्षसरुपी मानवको पेटमा पु-याईन्छन् । धामी झाक्रीले गर्ने पशु पंक्षिको अमानवीय बलिले पशु पंक्षिलाई मात्र बिजोग बनाएको छैन बरु बिरामीलाई नै अकालमै यमलोक पुयाइरहेकाछन् । स्थानीयहरुले वन्यजन्तुको निर्मम रुपमा वंश नास गर्दै रहेकाछन् । पहिले राजा माहाराजा दरवारीयाहरुले जनावरका छाला सिंग दात टाउकाले दरवार सजाउने प्रचलन थियो । ठूला कर्मचारी तथा नेताहरुव्दारा नै गोली बारुद उपलब्ध गराई जंगली जनावरको मासु खाई जिब्राको स्वाद मेटने हाम्रो परम्परा अझै पनि रहेकोछ ।
नेता कर्मचारी र बिचौलीया ठेकदार तस्करबीच आ आफ्नो स्वार्थ पूर्तिको लागि अन्य पक्षमा जस्तै वन्य जन्तु बिनाशमा पनि बाँधिएको अपवित्र लगन गाँठो फुकाउन मुश्किल परिरहेको जस्तो देखिन्छ । गडिमाई जस्ता ठाँउमा गरिने पशु बलि नरोके पर्यटक नेपालमा नआउने चेतावली आइरहेकोछ । बलि दिदा होस वा अन्य अमानवीय तरिकाले पशु बधका दृश्य कलीला वालवालीकाले देख्दा बाल मन मस्तिष्कमा नकारात्मक असर पुग्ने पक्षमा पनि कसैले ध्यान दिएको पाइदैन । पिछडिएको जंगली तथा असभ्य संस्कृति परम्पराहरु संरक्षणको नाममा यथावत् राखेमा त्यो समाज अझै पछि पर्दछ भन्ने कुरा बुझ्न जरुरी छ । एउटा अघाएको सिंहले सेतो झोपो भएको पुच्छर ठाडो पारि मृगहरुलाई देखाउछ । जब मृगहरुले सिंहले देखाएको त्यो सेतो झण्डा देख्दछन् मृगहरु सिंह भए वरिपरि नै निर्धक्क रुपमा चर्दछन् ।सिंहको त्यो संकेत शान्तिको संकेत हो ; अनावश्यक अरुलाई दु:ख नदिने धर्म हो । मानिसले पनि मानव धर्म पालन गर्नु पर्दछ ।
पशु बलिलाई धर्म मान्नेहरु पनि आजभोली पाप सम्झन थालेका छन् । आफुलाई प्रीय वस्तु इश्वरलाई चडाएर खानु भन्ने पनि छ ।यसो हो भने मानौ एउटा सुँगुर तपाईंको भक्त छ । सुँगुरलाई तपाईंको विष्ट मन पर्दछ । यदि त्यसले त्यो विष्ट तपाईंलाई चडायो भने स्वीकार गर्नुहुन्छ ? अवश्य गर्नु हुन्न । देवीलाई सबैको माता भनिन्छ । देवीका सन्तान मानिस मात्र होइन सम्पूर्ण प्राणीहरु पनि हुन । मानौ एउटा आमाका दुईवटा छोराहरु छन् । एउटा छोराको हितको लागि अर्को छोरो के आमाले बलिदान दिन चाहन्छिन होला ? अहिले दशैको अवसरमा काठमाण्डौबाट मात्र दशै मनाउन पच्चीस लाख भन्दा बडी व्याक्तिहरु बाहिर जान्छन् । दशै जुवा जाड मासु बलि र पैसाको चाडको रुपमा विकास हुदैछ । यसलाई भातृत्व स्नेह मिलन सद्भाव र खुसी बाडने चाडको रुपमा लिनु पर्दछ । गाडि प्लेन कारखानामा बलि चडाएर दुर्घटना नहुने होइन ।बरु मापासे नगरेमा होसियार भएमा दुर्घटना हुदैन ।हामी भित्रको घृणा व्देष रीस अहं जस्ता नकारात्मक भावनाको बलि चडाएमा नै देवी खुसी हुन्छिन ।
विभिन्न मन्दिरहरुमा बाहिर बलि दिन थालिएको , सर्वोच्च अदालतले व्यवस्थित बध गर्न दिएको निर्देशन , पशु बलिको संख्या घटदै जानु, पशु बलि रोक्न गरिएका विभिन्न अभियान नरिवलको बलिको प्रचलन बढदै जानू, पशुहितको लागि नियम कानुनको प्रबन्ध हुनु आदि पक्षहरुले पशु बलि अमानवीय तरिकाले बध वन्यजन्तु विनास बिरुद्धमा जागरण बढदै छ भन्ने संकेत देखिन्छ । इश्वर सर्वव्यापी सबैका दाता हुन । हामीहरुले दिएको काचो मासु र रगत खान इश्वर पर्खेर बसेका छैनन् । भूत प्रेत राक्षस झाक्रि मुर्कट्टा डायना जस्ता जसले देवता र मानिसलाई पनि दु:ख दिन्छन् भन्ने लाग्दछ भने तिनीहरुलाई पालनपोषण गर्ने होइन बरु धपाउनु पर्दछ । मानिस सर्वश्रेष्ट प्राणी मानिसको शरिर मात्र लिएर हुन सक्दैन । मानिसमा मानवीय गुणहरु हुनु पर्दछ । हामीहरुका सत्कर्मले नै हाम्रा पुर्खाहरुको उद्धार हुन्छ ।हाम्रो पृथ्वी माताको इको पद्धति कायम राख्दै सबै प्राणीको संरक्षण गर्न, पशुबलिको बर्वरता हटाउन , सभ्य सुसंस्कृत व्याक्ति समाज राष्ट र विश्व बनाउन यस दिवस प्रेणादायी बनोस् ! धन्यवाद ।
hishivapandey@ gmail.com
हाल: USA