​समानुपातिक निर्वाचन प्रणाली: कसरी गरिन्छ सिट बाँडफाँड र व्यक्ति छनोट?

​भर्खरै निर्वाचन सम्पन्न भएसँगै आम मतदातामाझ कुन पार्टीले कहाँ जित्यो भन्ने चासो रहनु स्वाभाविकै हो। तर प्रत्यक्ष निर्वाचनको नतिजा जत्तिकै महत्त्वपूर्ण पक्ष समानुपातिक निर्वाचन प्रणाली पनि हो। धेरैलाई समानुपातिकतर्फको सिट गणना र उम्मेदवार छनोटको प्रक्रिया केही जटिल लाग्न सक्छ। यही अन्योललाई चिर्न प्रतिनिधि सभा निर्वाचन २०७९ को तथ्याङ्कलाई आधार मानी यो जानकारीमूलक लेख तयार पारिएको छ।

​१. थ्रेसहोल्ड र गणना हुने मत

२०७९ को निर्वाचनमा समानुपातिकतर्फ जम्मा १,०५,६०,८२ मत खसेको थियो, जसमध्ये ५,६६,१४४ मत बदर भयो। यसरी कुल सदर मत ९९,९३,९३८ कायम हुन आयो। सिट बाँडफाँडको नियमअनुसार कुल सदर मतको ३ प्रतिशत ‘थ्रेसहोल्ड’ (Threshold) कटाउन नसकेका ४७ दलहरूको ९,८२,२३९ मतलाई गणना प्रक्रियाबाट बाहिर राखियो। ​नतिजास्वरूप, थ्रेसहोल्ड कटाउने ७ वटा राष्ट्रिय दलहरूले प्राप्त गरेको कुल ९०,११,६९९ मतलाई मात्र आधार मानेर ११० सिटको बाँडफाँड गरियो। प्राविधिक रूपमा भन्दा, साना दलहरूले ल्याएको करिब १० लाख मत गणना नहुँदा त्यसको अप्रत्यक्ष लाभ ठूला दलहरूलाई नै भयो; किनकि बाँडफाँड गरिने ११० सिटमा ती ७ दलको मात्र हिस्सा कायम भई उनीहरूको सिट सङ्ख्या तुलनात्मक रूपमा बढ्न पुग्यो।

२. सेन्ट-लग (Sainte-Laguë) विधि र गणितीय प्रक्रिया

​नेपालमा समानुपातिक सिट बाँडफाँडका लागि ‘सेन्ट-लग’ विधिको प्रयोग गरिन्छ। यसमा दलले प्राप्त गरेको कुल मतलाई क्रमशः १.४, ३, ५, ७, ९, ११… जस्ता बिजोर अंकहरूले भाग गरिन्छ। कुनै पनि दलले पाउने सिट संख्या 👎 को गणनाका लागि भाजक (Divisor) निकाल्न 2n-1 को सूत्र प्रयोग गरिन्छ पहिलो सिटमा १ को सट्टा १.४ प्रयोग गरिन्छ। यसो गरिनुको अर्थ धेरै साना साना दलहरू राष्ट्रिय दल नबनुन् भन्ने नै हो। २०७९ को नतिजाअनुसार दलहरूको अवस्था यस्तो थियो:

​नेकपा (एमाले): २,८४५,६४१ मत प्राप्त गरी ३४ सिट जित्यो (अन्तिम भाजक: ६७)।

​नेपाली कांग्रेस: २,७१५,२२५ मतका साथ ३२ सिट (अन्तिम भाजक: ६३)।

​नेकपा (माओवादी केन्द्र): १,१७५,६८४ मतसहित १४ सिट (अन्तिम भाजक: २७)।

​राष्ट्रिय स्वतन्त्र पार्टी: १,१३०,३४४ मतका साथ १३ सिट (अन्तिम भाजक: २५)।

​राष्ट्रिय प्रजातन्त्र पार्टी: ५,८८,८४९ मत प्राप्त गरी ७ सिट (अन्तिम भाजक: १३)।

​जसपा र जनमत पार्टी: यी दुवै दलले ५–५ सिट प्राप्त गरे, जसमा दुवैको अन्तिम भाजक ९ कायम भयो।

​जसपा र जनमत ५ सिटमै किन रोकिए?

सेन्ट-लग विधिमा माथिल्लो क्रमका ११० वटा भागफल (Quotient) ले मात्र सिट पाउँछन्। ११० औँ सिटको ‘कट-ऑफ’ अंक ४२,४७२ थियो। जसपा र जनमतले ६ औँ सिट पाउनका लागि उनीहरूको मतलाई ११ ले भाग गर्दा आउने नतिजा यो कट-ऑफ भन्दा कम भएकाले उनीहरू ५ सिटमै सीमित हुनुपर्‍यो।

​३. राष्ट्रिय दलको मान्यता र थ्रेसहोल्डको असर

​प्रतिनिधि सभामा ‘राष्ट्रिय दल’ बन्न दुई शर्त पूरा गर्नुपर्छ: प्रत्यक्षतर्फ कम्तीमा १ सिट जित्नुपर्ने र समानुपातिकमा न्यूनतम ३ प्रतिशत मत ल्याउनुपर्ने हुन्छ। उदारणार्थ ​माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले प्रत्यक्षतर्फ १० सिट जिते पनि समानुपातिकमा २,९८,३९१ मत (३ प्रतिशत भन्दा केही कम) मात्र प्राप्त गर्‍यो। थ्रेसहोल्ड कटाउन नसक्दा उक्त दलले समानुपातिकमा कुनै सिट पाएन र राष्ट्रिय दलको मान्यताबाट वञ्चित भयो। कुनै अवस्थामा थ्रेसहोल्ड कटाए पनि समानुपातिकमा १ सिट नपाउने अवस्था रहन सक्छ। यसरी हेर्दा राष्ट्रिय दल हुन समानुपातिकमा पनि एक सिट ल्याउनु पर्ने हुन्छ। थ्रेसहोल्ड कटाएर प्रत्यक्ष निर्वाचनमा कम्तिमा एक सिट जित्नु मात्र पनि राष्ट्रिय दल बन्ने पूर्ण योग्यता नहुन सक्छ।

​४. बन्दसूची (Closed List) र व्यक्ति छनोट

​दलले सिट संख्या प्राप्त गरिसकेपछि ती सिटमा को उम्मेदवार पर्छन् भन्ने कुरा निर्वाचन अघि नै बुझाइएको ‘बन्दसूची’ले तय गर्छ।

​समावेशी क्लस्टर:

नेपालको संविधानअनुसार कुल ११० सिटलाई ६ वटा समूहमा अनिवार्य विभाजन गरिएको छ:

​खस आर्य (३१.२%), आदिवासी जनजाति (२८.७%), मधेसी (१५.३%), दलित (१३.८%), थारू (६.६%) र मुस्लिम (४.४%)।

​महिला प्रतिनिधित्वको अनिवार्य नियम:

प्रत्येक दलबाट चुनिएका कुल सांसद (प्रत्यक्ष र समानुपातिक जोडेर) मध्ये ३३ प्रतिशत महिला हुनु अनिवार्य छ। यदि कुनै दलले प्रत्यक्षतर्फबाट पर्याप्त महिला जिताउन सकेन भने, उसले समानुपातिकको सिटबाट महिलाको संख्या पुर्‍याउनुपर्ने हुन्छ। यस्तो अवस्थामा बन्दसूचीको माथिल्लो क्रममा रहेका पुरुष उम्मेदवारलाई छाडेर तल रहेका महिला उम्मेदवारलाई निर्वाचित गर्नुपर्ने कानुनी बाध्यता रहन्छ।

समानुपातिक निर्वाचन प्रणालीले सिमान्तकृत र अल्पसङ्ख्यक समुदायको आवाजलाई संसदसम्म पुर्‍याउन मद्दत गर्छ। बन्दसूची एउटा ‘वेटिङ लिस्ट’ जस्तै हो, जहाँ दलले प्राप्त गरेको मत र समावेशी कोटाको आधारमा उम्मेदवारहरू छनोट गरिन्छन्। यस प्रणालीको जटिलता बुझ्नु सचेत नागरिकको लागि आवश्यक छ।