मादक पदार्थ सेवन (मापसे) गरी स्कुल बस चलाउने पाँच चालकलाई कास्की प्रहरीले सोमबार पक्राउ गरेपछि पोखरा महानगरले कडा कदम चाल्ने भएको छ । महानगर प्रमुख धनराज आचार्यले मंगलबारदेखि सबै विद्यालय तथा कलेज बसका चालकहरूको मापसे जाँचिने बताएका छन् ।
पोखरा महानगर शिक्षा समितिका अध्यक्षसमेत रहेका आचार्यले भने, ‘यदि कुनै सवारी चालकले मादक पदार्थ सेवन गरेको पाइएमा चालकलाई नियमानुसार कारबाही गरिनेछ र सम्बन्धित शैक्षिक संस्थालाई रु. ५,००० देखि १,००,००० सम्म जरिवाना गरिनेछ। साथै, पटक–पटक उल्लङ्घन भएको पाइएमा स्पष्टीकरण माग गरी अनुमति पत्रसमेत निलम्बन गर्न सकिनेछ ।’
पोखराका विभिन्न स्कुल बसका चालकले मापसे गरी गाडी चलाउने गरेको गुनासो आएपछि प्रहरीले सोमबार बिहान चेकजाँच गरेको थियो ।
सोमबार बिहान साढे ९ बजे जिल्ला प्रहरी कार्यालय कास्की, ट्राफिक प्रहरीसहितको टोलीले मापसे परीक्षण गर्दा पाँच बसका पाँच चालकले मापसे गरेको भेटिएको कास्कीका प्रहरी प्रवक्त प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए ।
प्रहरीले माउन्ट हेभन बोर्डिङ स्कुलको ग१क ३६७४ नम्बरको बसका चालक पोखरा १५ बस्ने वर्ष ३३ का आन्नद परियार र कुमुदिनी होम्स बोर्डिङ स्कुलको ग१क १३८२ नम्बरको बसका चालक पोखरा ५ बस्ने वर्ष ३७ का गौतम गुरुङलाई पक्राउ गरेको हो । बिन्देश्वरी स्कुल बोर्डिङ स्कुलको ग१क ६२२१ नम्बरको बस चलाउने पोखरा १५ बस्ने वर्ष ४४ का भक्तबहादुर गुरुङ र अञ्जुली बोर्डिङ स्कुलको ग१क ६४०३ नम्बरको बसका चालक पोखरा १६ बस्ने वर्ष ४८ का डम्बरबहादुर गुरुङलाई पनि नियन्त्रणमा लिएको छ ।
कास्कीका प्रहरी प्रवक्ता बस्नेतले एसओएस बोर्डिङ स्कुलको ग१क ६४३३ नम्बरको बसका चालक पोखरा–१० बस्ने वर्ष ४७ का पदम विकलाई पनि नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । पाँच बसका चालकहरुले मापसे सेवन गरेको देखिएकाले नियन्त्रणमा लिएर अनुसन्धान र कारवाही प्रक्रिया सुरु गरिएको बस्नेतले बताउनुभयो ।




