अन्तर्राष्ट्रिय संग्रहालय २३ वर्षमा, बोटानिकल गार्डेन बनाइँदै

पोखराको रातोपहिरोमा रहेको अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय खुलेको २२ वर्ष पूरा भएको छ । संग्रहालय २३ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बिहीबार २३ औं अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस मनाइएको छ ।

कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा रत्नबहादुर बागचन्दले हिमाल, पहाडहरु भौगोलिक संरचनामात्र नभएर सभ्यता, संस्कृति र संघर्षका पहिचान भएको बताए । उनले पर्वतारोहण नेपालको समृद्धिको माध्यम भएको उनको भनाइ छ । ‘पर्वतारोहण नेपालका लागि साहसिक खेलमात्र होइन, रोजगारी, पर्यटन प्रवर्धन र अन्तर्राष्ट्रिय पहिचानको विषय पनि हो,’ उनले भने ।

मुख्य न्यायाधीश बागचन्दले संग्रहालयहरु इतिहास, संस्कृति र सभ्यताको केन्द्र भएको उल्लेख गर्दै पुराना सम्पदा नजोगाए भावी पुस्ताले यी विषयको ज्ञान पाउन नसक्ने जनाए । अदालत प्राकृतिक सम्पदा, अवस्थिति आदिको संरक्षक भएको उनको भनाइ छ । ‘चिप्लेढुंगाको अस्तित्व कसैले नष्ट गर्न खोजेको मुद्दा अदालतमा परे न्यायालयले संरक्षणको पक्षमा आदेश दिनुपर्ने हुन्छ,’ उनले भने ।

उनले पोल्यान्डको कारकोनोज म्युजियमको सहकार्यमा संग्रहालयमा बिहीबारै ‘आर्टिस्टिक प्यारालल्सः द कारकोनोज एन्ड हिमालयज इन फोटोग्राफी’ शीर्षकको फोटो प्रदर्शनी पनि सुरुआत गरे । यो प्रदर्शनीले दुई भिन्न पहाडी श्रृंखलाहरू—पोल्याण्डको सानो तर ऐतिहासिक कार्कोनोजे र विशाल हिमालय बीचको भावनात्मक र कलात्मक सम्बन्धलाई देखाउँछ ।

रातोपहिरोमा २३ वर्षअघि खुलेको संग्रहालय एक सय रोपनीमा फैलिएको छ । नेपाल पर्वतारोहण संघको गौरवको परियोजनाका रुपमा यो रहेको संग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेले बताइन् । यहाँ गण्डकी सरकारको लगानीमा बोटानिकट गार्डेन बनाउने योजनाअघि बढेको छ ।

पर्वतारोहण संघका अध्यक्ष फूर गेल्जे शेर्पाले देशको समृद्धिका लागि पर्वतीय पर्यटन जरुरी भएको बताए । उनले पर्वतारोण क्षेत्रको विकासका लागि नेपाल सरकारले उचित ध्यान दिन नसकेको उनको टिप्पणी छ । कार्यक्रममा पोल्यान्डका लागि मानार्थ महावाणिज्यदूत लोकमान्य गोल्छा, पोखरा पर्यटन परिषदका महासचिव जीवनराज सापकोटा, गोबन्जीकी प्रबन्धक मिना बराल लामा, नेपाल पर्वतारोहण संघ गण्डकी अध्यक्ष विकास गुरुङ लगायतले बोलेका थिए ।