संघर्षको अर्को नाम कमरेड रुचि 

गाउँमा केही अपरिचित मान्छेहरू आए। अपरिचित मान्छेहरू देखेपछि जो–कोही बच्चाहरू पनि रमाइलो मान्छन्। गोमालाई पनि रमाइलो लाग्यो। चुलबुले स्वभावकी गोमा नाच्न–गाउन पनि सिपालु थिइन्। रेडियोमा बासुदेव मुनालले चलाउने बालकार्यक्रम नबिराई सुन्थिन्। गीत–कविता भनेपछि हुरुक्कै हुन्थिन्। छिमेकीमा डुल्दा पनि गीत गाउँदै डुल्ने गोमाको स्वभाव ती अपरिचित मान्छेहरूलाई मन पर्‍यो।

लमजुङको भलायखर्क गाउँमा माओवादीको राम्रै प्रभाव थियो। रातिराति गाउँमा गोष्ठीहरू हुने गर्थे। हतियार उठाएर जनयुद्ध सुरु गरेको माओवादीले बालबालिकालाई पनि रचनात्मक कार्य गर्ने बहानामा संगठित गरेको हुन्थ्यो। गोमाको प्रतिभाबाट प्रभावित भएर माओवादीले भलायखर्क गाउँमा गोमाको अध्यक्षतामा बालक्लब नै गठन गरे। बालक्लबको अध्यक्ष हुन पाएपछि उनी फुरुङ्ग भइन्। गाउँका साथी–सङ्गातीहरू बटुलेर बालक्लबलाई अझै राम्रो बनाइन्।

बालक्लबमा हुँदा जनयुद्ध के हो? माओवादी कस्तो पार्टी हो? अह! उनलाई केही थाहा थिएन। उनलाई माओवादको बारेमा जान्नु पनि थिएन। जान्ने उमेर पनि भएको थिएन। उनलाई यत्ति थाहा थियो—बालक्लबमा आबद्ध भए राम्रो गाउनु पर्छ, राम्रो नाच्नु पर्छ, स्कुलमा आफ्नो क्लबको नाम चम्काउनु पर्छ। बेला–बेलामा गाउँमा आइरहने दाइ–दिदीहरूले नाच्न र गाउन प्रोत्साहन गर्दा उनलाई झन् आनन्द आउँथ्यो। दाइ–दिदीहरू भनेपछि उनी हुरुक्कै हुन्थिन्।

दिनहरू यसरी नै बितेका थिए। बालक्लबमा गोमा रमाइरहेकै थिइन्। एक दिन ठूलो सङ्ख्यामा हतियारसहित उनको गाउँमा पुलिसहरू आए। पुलिस आउँदा उनको गाउँमा आइरहने दाइ–दिदीहरू एकाएक गायब भए। गाउँलेहरूलाई पुलिसहरूले थर्काए। अबदेखि माओवादी पालेको थाहा पाए गोलीले उडाइदिने धम्कीसमेत दिए। पुलिसले आफ्ना बा–आमालाई थर्काएको उनले सुनी मात्रै राखिन्।

पुलिस फर्किएको केही दिनमा फेरि दाइ–दिदीहरू उनको गाउँमा आए। गाउँलेहरूले अघिल्ला दिनका घटनाहरूको बेलिबिस्तार लगाए। हठी स्वभावकी गोमालाई ती दाइ–दिदीहरूको साह्रै माया लाग्यो। कलिलो बालदिमागमा अस्ति आएका पुलिसहरूप्रति नराम्रो प्रभाव पर्‍यो। पछि बालक्लबले गाउँमा पुलिस आए–नआएको सूचना पनि दाइ–दिदीहरूलाई दिन थाल्यो। तत्कालीन माओवादीले बालक्लबको माध्यमबाट विभिन्न सूचनाहरू पनि लिने गर्थ्यो। थाहै नपाई उनी माओवादी जनयुद्धमा लागिन्। उनलाई थाहा नै थिएन—माओवाद भनेको के हो? मार्क्सवाद भनेको के हो? जनमिलिसिया भनेको के हो? जनसेना भनेको के हो?

गोमा कक्षा आठमा पुगिन्। कक्षा आठबाटै उनी अखिल क्रान्तिकारीसँग जोडिइन्। घरमा बाबा–आमा खेती–किसान गर्नुहुन्थ्यो। छोरी अखिल क्रान्तिकारीमा संगठित भएपछि तत्कालीन सुरक्षाकर्मीको निगरानीमा उनका बा–आमा समेत परे। घरमै पुलिसहरू आएर दुःख दिन थाले। “माओवादी कहाँ छन् भन, होइन भने तेरी छोरीलाई कारबाही गर्छौं” भनेर धम्कीसमेत दिन्थे। पुलिस आतंकबाट गोमालाई पनि गाउँमा बस्न अफ्ठ्यारो पर्‍यो। भर्खरै दस कक्षा सम्म पुगेकी गोमाले पढाइ चटक्कै छाडिन्। माओवादी कार्यकर्ताको पछि लागेर हिँडिन्। पन्ध्र वर्षको उमेरमै उनी भूमिगत हुन बाध्य भइन्। छोरी माओवादीमा लाग्दा बाबा–आमाले गहभरि आँसु पारेर विदाइ गरेका थिए। त्यो दिन सम्झिँदा अहिले पनि उनलाई नरमाइलो लाग्छ। बाबा–आमाको काख छोड्न मन त उनलाई थिएन, तर घरमै असुरक्षित भएपछि पार्टीमा पूर्णकालीन भएर लाग्नुको अर्को विकल्प थिएन।

२०५७ सालबाटै उनी पूर्णकालीन भएर हिँडिन्। पार्टीले उनलाई स्वास्थ्यसम्बन्धी तालिम दियो। स्वास्थ्यकर्मी भएर पार्टीको काममा लागिन्। पार्टीमा उनको परिचय फेरियो—नाम फेरियो, काम फेरियो। गोमा घिमिरेबाट उनी कमरेड रुचि भइन्। कमरेड रुचिलाई जनसेना हुने रहर जाग्यो। जनमिलिसिया हुँदै जनसेना भइन्। बन्दुक चलाउन सिकिन्। ग्रेनेड खेलाउन सिकिन्। साना–तिना भिडन्तहरूमा सहभागी हुने अवसर पनि पाइन्। जनयुद्ध चरम उत्कर्षमा पुगिरहेको थियो।

राज्यले माओवादी मास्न हरतरहको प्रयास गरेको थियो। सेना र पुलिस मिसाएर सशस्त्र पुलिस गठन गरेको थियो। एकपछि अर्को ठाउँमा माओवादीले आक्रमण तीव्र पारेका थिए। थुप्रै जिल्लाका सदरमुकामहरू माओवादी आक्रमणबाट ध्वस्त भएका थिए। थ्री–नट–थ्रीबाट सुरु भएको माओवादी विद्रोह देशव्यापी बनिसक्दा जनसेना अत्याधुनिक हतियार एके–४७ बाट सुसज्जित थियो। कमरेड रुचिका दिनहरू पार्टीले खटाएको काम गरेर बितिरहेका थिए।

२०६० साल चैत सात गते माओवादीले बेनी आक्रमण गर्‍यो। बेनी आक्रमणमा रुचि पनि सहभागी हुने अवसर पाइन्। बेनी आक्रमणबाट माओवादीले राम्रै सफलता हात पार्‍यो। थुप्रै हतियार कब्जा गर्न सफल पनि भयो। लडाइँको मोर्चामा खटिएकी रुचिलाई गोली लाग्यो। खुट्टामा गोली लागेर उनी घाइते भइन्। उनी हिँड्न नसक्ने भइन्। तत्काल प्राथमिक उपचार गरेर उनलाई सहकर्मी साथीहरूले सुरक्षित स्थानमा लगे।

घाइते रुचिलाई उपचारका लागि भैरहवा लगियो। पच्चीस दिनसम्म स्ट्रेचरमा बोकेर भैरहवा पुर्‍याउँदा उनको खुट्टा निकै बिग्रिसकेको थियो। २०६१ वैशाख दुई गते उनको खुट्टाको अप्रेसन भयो। गुप्ता थरका डाक्टरले उनको अप्रेसन गरेका थिए। नेपाल प्रहरीका हवल्दारले उनलाई ताजा रगत दान गरेका थिए। हवल्दार आफैँलाई थाहा थिएन—माओवादी कार्यकर्तालाई रगत दान गर्दै छु भन्ने। सुरुमा उनलाई रुखबाट लडेर घाइते भएको भनिएको थियो। अप्रेसनपछि उनी होसमा आउँदा उनको एउटा खुट्टा काटिएको थियो। आफ्नो खुट्टा गुमेको थाहा पाउँदा उनलाई साह्रै दुःख लाग्यो। युद्धमा घाइते हुँदा उनलाई त्यति दुःख लागेको थिएन। उपचारको क्रममा खुट्टा गुम्दा भने उनी विचलित भइन्। एक घण्टाजति आफ्नो खुट्टा सम्झेर रोइन्।

उनी अस्पतालमा भएको बाहिर हल्ला चल्यो। बेनीबाट २५ दिनसम्म बोकेर माओवादी नेतालाई भैरहवामा ल्याएर उपचार गरेको भनेर। बाहिर हल्ला भएजस्तो उनी पार्टीको ठूलो मान्छे थिइनन्। बेनी आक्रमणबाट आत्मसमर्पण गरेका सुरक्षाकर्मी र सहायक सिडिओले समेत उनलाई स्ट्रेचरमा बोकेर ढोरपाटन जंगलसम्म लगेका थिए। सरकारलाई उनी ठूलै नेता भएको आशङ्का लाग्यो। रुचिलाई अस्पताल हुँदै खेरी भैरहवाका तत्कालीन एसपी ढकबहादुर कार्कीको नेतृत्वको टोलीले पक्राउ गर्‍यो। घाइते अवस्थाबाटै सुरु भए उनका हिरासतका दिनहरू। उनलाई मुद्दा चलाइयो। अदालतको आदेशमा उनलाई कपिलवस्तु कारागारमा राखियो।

घाइतेलाई कारागारमा राखिएकोमा व्यापक विरोध भयो। विरोध हुँदाहुँदै पनि उनलाई तीन महिना बेपत्ता पारियो। उनी आफैँलाई समेत थाहा भएन—उनीलाई लगिएको ठाउँ। रेडक्रसको अन्तर्राष्ट्रिय संस्थाले बेपत्ता बनाएकोमा विरोध गर्‍यो। युद्धको सामान्य नियम पनि पालना नगरेको आरोप सरकारलाई लाग्यो। घाइते अवस्थामा शारीरिक तथा मानसिक यातना दिएको भनेर सार्वजनिक गरेर छोड्न दबाब पर्‍यो। अदालतमा फेरि मुद्दा चल्यो। रेडक्रसको जिम्मामा रिहा गर्न सरकार बाध्य भयो। रेडक्रसको टोलीले नै उनलाई पोखरा ल्यायो। उनको काटिएको खुट्टामा हरियोखर्क पोखरा लगेर कृत्रिम खुट्टा राखियो। आफ्नै गाउँ भलायखर्क लगेर अभिभावकको जिम्मा लगाइयो। उनी केही समय गाउँमै बसिन्। पार्टी–सम्पर्क पनि भएन। घरमा रहँदा पनि बेलाबेलामा सेनाका मान्छेहरू आएर दुःख दिने क्रम जारी नै थियो।

नेपाल कम्युनिस्ट पार्टीका नेता कमरेड श्याम सुरक्षाकर्मीको आँखा छल्दै उनको घरमा आए। कमरेड श्याम आएपछि उनको पार्टी–सम्पर्क भयो। अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मा रहेर उनले काम गरिन्। पोखरा आएर लुकी–लुकी कम्प्युटर पनि सिकिन्। उनलाई कमरेड हितराज पाण्डेले पनि बेला–बेलामा अभिभावकत्व दिए। राजु क्षेत्री र सङ्गीता खड्कासँग पनि भेट भयो। स्वाभिमान साप्ताहिकका समाचार लेख्ने काम गरिन्। राजु क्षेत्रीले उनलाई जनपक्षीय पत्रकारिता गर्न हौसला प्रदान गरे।

राजाले कू गरेपछि एमाले र कांग्रेसहरू पनि आन्दोलनमा होमिए। समयक्रमले दुई थरी शक्तिलाई एउटै मोर्चामा आउने बाध्य बनायो। पोखरामै रहेर पत्रकारिता गरिन्। छोटो समयमै जनपक्षीय पत्रकारिता परिचित भइन्। चटक्कै छोडेको पढाइलाई पनि निरन्तरता दिइन्। पार्टीले उनको जनवादी विवाह पनि गरायो।

विवाहपछिको जिन्दगीको एउटा लामो कथा छ, जुन कथाको बारेमा भनिरहनु आवश्यक छैन। निकै उतार–चढाव भए। उतार–चढावको छुट्टै लामो कहानी छ। उनका श्रीमान् सागर लुइँटेल माओवादी जनयुद्धमा सानैदेखि लागेका थिए। जनमुक्ति सेनाको एसटिएफ टोलीमा उनी कार्यरत थिए। सेनाले बेपत्ता बनाएर उनलाई चरम यातना दियो। तातो हिटरमा पिसाब फेर्न लगाएर पटक–पटक मार्ने प्रयास गर्‍यो। नेपाली समाजमा एउटा भनाइ छ—“पिठो नसकिएसम्म केही हुँदैन।” सयौँ पटकको महायातनाबाट पनि उनी बाँच्न सफल भए। पछि उनको दुवै मिर्गौलाले काम गर्न छोड्यो। आफ्ना साथी–भाइको सहयोग र आफ्नो पुर्ख्यौली सम्पत्ति बेचेर मिर्गौला फेरे। फेरेको मिर्गौलाले पनि लामो समय काम गरेन। फेरि डायलाइसिस गर्नुपर्ने भयो।

डायलाइसिस गराउँदै गर्दा उनकी ७५ वर्षीया आमाले मिर्गौला दान गर्ने कुरा भयो। सुरुमा वृद्ध आमाको मिर्गौला लिन सागरलाई निकै अफ्ठ्यारो लाग्यो। आखिर जन्मदिने महान् आमाको मातृत्वले जित्यो। पुनः दोस्रो पटक उनको मिर्गौला प्रत्यारोपण भयो। साथी भाइको सहयोगले मात्रै के पुग्थ्यो  र बचेको पुख्र्यौली सम्पत्ति पनि दोस्रो पटक मृगौला फेर्दा सकियो । अहिले आमा र सागर मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्य लाभमा छन्। रुचि दुवै जनाको स्याहारमा खटिएकी छन्। ठूली छोरी प्रार्थना बहिनीको हेरचाह गर्दै अध्ययनरत छिन्। प्रार्थना आफैँ पनि सानै छिन्। आफैँ सानै भएर पनि सानी बहिनीको रेखदेख र पढाइमा व्यस्त छिन्।

अहिले समय फेरिएको छ। हिजो सँगै जनयुद्ध लडेका साथीहरू थुप्रैतिर विभाजित छन्। जनयुद्धमा प्रत्यक्ष सहभागी भएका भुइँमान्छेहरु निराश छन्। अहिले  तत्कालीन नेकपा माओवादी इतिहास बनिसकेको छ। जो जहाँ भए पनि जनयुद्ध नेपाली जनताको हक–अधिकारका लागि भएको यथार्थ नेपाली जनताले भुलेका छैनन्। सामाजिक , साँस्कृतिक राजनीतिक परिवर्तनमा जनयुद्धको ठूलो भुमिका छ। एउटा सानो परिवार जनयुद्धप्रति समर्पित छ। जनयुद्ध दिवस उनीहरूका लागि दशैँ–तिहारभन्दा बढी महत्त्वको हुन्छ।

प्रिय रुचि,

तिमीलाई जनयुद्ध दिवसको सम्पूर्ण शुभकामना !

समाचार, विचार बाडौं, सेयर गरौं । केही अनलाइनले हाम्रा सामग्री हुबहु र तोडमोड गरी प्रयोग गरेको पाइएकाले गैरकानुनी कार्य नगर्न अनुरोध छ ।