पछि पर्‍यौंं: मादीबासी; कायापलट गर्ने योजना छः करण

कास्की क्षेत्र नम्बर–१ का नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार राजकाजी गुरुङले पर्यटनको माध्यमबाट मादी गाउँपालिकाको विकासमा कायापलट गर्न सकिने बताएका छन् । जनकल्याण तमु समाजको आयोजनामा नेकपाका उम्मेदवारसँगको साक्षात्कार कार्यक्रममा बोल्दै उनले मादी गुरुङ समुदायको ऐतिहासिक थलो भएको र प्राकृतिक रुपमा पनि भरिपूर्ण भएकाले यसलाई पर्यटनसँग जोडेर स्थानियको आयआर्जन बढाउने र समृद्द बनाउन सकिने बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने,‘मादी गुरुङ समुदायको ऐतिहासिक थलो हो, यहाँको क्होँलासोंथर गुरुङको सभ्यता बोकेको पवित्र स्थल हो । अनि प्राकृतिक दृष्टिले अत्यन्त सुन्दर छ । यसको प्रचारप्रसार, प्रवद्र्दन र गुरु योजना बनाएर पूर्वाधार निर्माण गर्न सके त्यसैबाट मादीमा समृद्दि ल्याउन सकिन्छ ।’ उनले त्यसका लागि आफूले भूमिका खेल्ने प्रतिबद्दता जनाए ।

कास्की १ मा अन्य पार्टीले भन्दा नेकपा र त्यसको नेतृत्वले विकास र समृद्दिका लागि भूमिका खेलेकोसमेत उनले स्मरण गरे । भने,‘हिजो देव गुरुङदेखि कृष्णबहादुर गुरुङहुँदै गायत्री गुरुङ र दीपक कोईरालाले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्नु भएको छ । अब त्यो विरासत बोकेर म यहाँको विकास र समृद्दिमा काम गर्न चाहन्छु ।’ मादीको विकास र समृद्दिको खाका आफूसँग रहेको र त्यो पूरा गर्न आफू लाग्ने उनले बताए । हिजो म वर्षमान पुन अर्थमन्त्री भएका बेला उहाँको राजनीतिक सल्लाहकारका रुपमा बस्दा पनि यहाँ ३५ करोड बराबरको योजना र बजेट पारेर यहाँको विकास र समृद्दिमा भूमिका खेलेको थिएँ,‘विगत सम्झिदै उनले थपे,‘अब तपाईंहरुको मत पाएर जितेँ भने यहाँको ठाउँ र स्थानियको अवस्था र मुहार फेर्न ठोस रुपमा काम गर्ने प्रतिबद्दता व्यक्त गर्दछु ।’

सो अवसरमा स्थानियले मादी शैक्षिक रुपमा पछि परेकोप्रति गुनासो गरेका थिए । त्यसको जवाफमा उनले आगामी दिनमा मातृ भाषासहित यहाँको क्षेत्रको शैक्षिक सुधारका लागि सुझाव मागेर योजनाबद्द ढंगले काम गर्ने वचन दिए ।

यसैबीच, प्रत्यक्षतर्फका कास्की १ का उम्मेदवार गुरुङसहित समानुपातिक उम्मेदवारहरुलाई जिताउन युवाहरुको एक भेलाले सन्तोष अधिकारीको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ । अनिल सुनार सह–संयोजक रहेको सो समितिले नेकपाका उम्मेदवारहरुलाई जिताउनका लागि अभियान सञ्चालन गर्ने सो क्षेत्रकी चुनावी कमाण्डर तथा समानुपातिक उम्मेदवार सोमती गुरुङले जानकारी दिईन् ।