रास्वपा कास्कीः १ मा गनेस, २ मा उत्तम

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कास्की जिल्लाका दुई प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार टुंगो लगाएको छ। पार्टीले कास्की क्षेत्र नम्बर १ बाट गनेस पौडेल र क्षेत्र नम्बर २ बाट उत्तमप्रसाद पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

कास्की–१ का उम्मेदवार गनेस पौडेल २०७९ सालको स्थानीय तह निर्वाचनमा ‘अटेरी अभियान’मार्फत पोखरा महानगर प्रमुखका प्रत्याशीका रूपमा चर्चामा आउनुभएको थियो। पोखरा–१४ निवासी पौडेल लेखकसमेत हुनुहुन्छ। उहाँ काठमाडौं महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह (बालेन) निकट मानिनुहुन्छ र बालेनसँगै रास्वपामा आबद्ध हुनुभएको हो। अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रमा एमालेका मनबहादुर गुरुङ निर्वाचित हुनुभएको थियो। यसपटक कास्की–१ मा नेकपाबाट राजकाजी गुरुङ (करण) र एमालेबाट बैनबहादुर अधिकारी क्षेत्री उम्मेदवार बनेका छन्।

त्यस्तै, कास्की–२ मा रास्वपाबाट उम्मेदवार बनेका उत्तमप्रसाद पौडेल पेशाले पत्रकार हुनुहुन्छ। रुपा गाउँपालिका निवासी पौडेल पछिल्लो समय रास्वपाको संगठन र राजनीतिक गतिविधिमा सक्रिय रहँदै आउनुभएको थियो। अघिल्लो निर्वाचनमा यो क्षेत्र एमालेकी विद्या भट्टराई अधिकारीले जितेकी थिइन्। यसपालि कास्की–२ मा नेकपाबाट हेमबहादुर थापा (किरण) र एमालेबाट रश्मि आचार्य प्रतिस्पर्धामा छन्।

कास्की क्षेत्र नम्बर ३ मा भने रास्वपाले अझै उम्मेदवार तय गर्न बाँकी छ। अघिल्लो निर्वाचनमा कास्कीका तीनै क्षेत्रमा रास्वपाले उल्लेखनीय मत ल्याएको थियो, यद्यपि तीनै सिट एमालेले जितेको थियो। नेपाली कांग्रेसले समेत अझै उम्मेदवार घोषणा गरेको छैन।