अंग्रेजी नयाँ वर्षको आगमनसँगै पोखरा फेरि उत्सवमय बन्ने भएको छ । पर्यटकीय नगरी पोखराको लेकसाइड क्षेत्रमा हरेक वर्ष आयोजना हुँदै आएको पोखरा सडक महोत्सव यस पटक पनि भव्य रूपमा सञ्चालन हुने तयारी अन्तिम चरणमा पुगेको छ । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराको आयोजनामा हुन लागेको २७ औँ संस्करणको महोत्सव आइतबारदेखि पुस १७ गतेसम्म चल्नेछ ।
‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवमा लेकसाइडको खहरेदेखि अम्बोटसम्म करिब साढे तीन किलोमिटर क्षेत्रमा सडकलाई नै उत्सवस्थल बनाइनेछ । यस अवधिमा सडक किनारमै विविध परिकार पाक्ने, संस्कृति झल्किने कार्यक्रम हुने र पर्यटक तथा स्थानीयको जमघट लाग्नेछ ।
रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार महोत्सवले पोखराको पर्यटन प्रवद्र्धन, स्थानीय उत्पादनको बजारीकरण, व्यापार अभिवृद्धि र सहरको ब्रान्डिङमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । “महोत्सव अब पोखराको संस्कृतिजस्तै बनिसकेको छ, यसले अर्थतन्त्र चलायमान बनाउँछ,” उनले भने ।
महोत्सवका मुख्य आकर्षणमा लोपोन्मुख जातजातिका सांस्कृतिक प्रस्तुति, झाँकी र मौलिक भेषभूषा प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार, लाइभ कन्सर्ट, खेलकुद प्रतियोगिता, सडक नाटक र सेल्फी बुथ रहनेछन् । नयाँ वर्षको पूर्वसन्ध्यामा चर्चित ब्याण्ड तथा कलाकारहरूको विशेष प्रस्तुति हुनेछ भने ल्होसारलगायत सांस्कृतिक पर्वलाई लक्षित कार्यक्रम पनि समेटिएको छ ।
अंग्रेजी नयाँ वर्षलाई उत्सवका रूपमा मनाउँदै पोखराले यसपटक पनि स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।




