पोखरामा जलन अस्पताल बनाइँदै, लागत करिब २ अर्ब

पोहोर फागुन ३ गते दिउँसोसम्म पोखरा महानगरको प्रदर्शनी केन्द्रमा पोखरा भ्रमण वर्ष घोषणाको उत्साह थियो । भ्रमण वर्ष उद्घाटनपछि अचानक हाइड्रोजन रहेको बेलुनमा आगो लाग्यो, नगर प्रमुख धनराज आचार्य र तत्कालीन उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल घाइते बन्नुभयो । उहाँहरुलाई तत्काल हेलिकोप्टरमार्फत् उपचारका लागि काठमाडौं लगियो । केही साताको उपचारपछि उहाँहरु घर फर्किनुभयो ।

उपचारपछि महानगर प्रमुख आचार्यको पोखरामा जलन अस्पताल बनाउने घोषणा गर्नुभएको थियो । त्यही प्रतिवद्धताबमोजिम पोखरा महानगरको वडा नम्बर २७, लेखनाथ जलन अस्पताल बनाउने तयारी भएको छ । साविक लेखनाथ नगरपालिकाको कार्यालय रहेको स्थानको खाली २८ रोपनीमा सय शैयाको अस्पताल बनाइने भएको हो ।

बर्न तथा स्पेसलाइज्ड हस्पिटल निर्माणका लागि सम्भाव्यता अध्ययन थालिएको छ । पोखरा महानगरको पुरानो विकास साझेदार कोरियन सहयोग नियोग (कोइका)को उच्च स्तरीय विज्ञ टोली अध्ययनका लागि अहिले पोखरामा छ । कोइकाका कन्ट्री डाइरेक्टर मुहोन कोङसहितको विभिन्न विषयका १७ सदस्यीय टोलीले यसका लागि अध्ययन गरिरहेको पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताउनुभयो ।

“नेपालको जलन उपचारका लागि नमुना अस्पताल बनाउँदै छौँ,” प्रमुख आचार्यले भन्नुभयो, “सम्भाव्यता अध्ययन सुरु भएको छ, ठाउँ यकिन भएको छ । करिब दुई अर्ब लागत हुने अनुमान छ ।” महानगरले हरियोखर्क अस्पतालमा समेत छुट्टै जलन युनिट बनाउँदै छ ।

तीन रोपनीमा पोखरा–२७ को कार्यालय बनेकोसाविक लेखनाथ नगरपालिका कार्यालय रहेको क्षेत्रमा पाँच रोपनी क्षेत्रफलमा एडिबीको सहयोगमा विपद् व्यवस्थापन केन्द्र निर्माण बन्दै छ । बाँकी २८ रोपनीमा जलन अस्पतालसँगै विशिष्टिकृत सेवाहरु चलाउने तयारी छ । प्रमुख आचार्य अन्तर्राष्ट्रिय स्तरको सहरमा आधुनिक जलन अस्पताल जरुरी हुने औंल्याउनुहुन्छ ।

जलनको उपचारका लागि सँगसँगै अरु विभाग पनि आवश्यक हुन्छन् । एकीकृत रुपमा जलनको उपचार गर्नुपर्ने भएकाले ठूलो जनशक्ति, उपकरण र खर्च लाग्ने सरोकारवालाहरु बताउँछन् । जलन अस्पताललाई आधुनिक, सुविधासम्पन्न र जनअपेक्षा अनुरुपको बनाउन महानगरले सर्वसाधारण र विज्ञहरुबाट सुझावसमेत माग गरेको छ ।