नवौं वार्षिकोत्सव मनाउँदै गल्कोट समाज युके

गल्कोट समाज यूकेको स्थापना भएको नवौं वर्ष प्रवेश गरेको अवसरमा समाजले एक विशेष सांस्कृतिक समारोह आयोजना गर्ने भएको छ।

बेलायतमा बसोबास गर्ने नेपालीलाई यस समारोहमा उपस्थित भई कार्यक्रमलाई भव्य र सफल बनाउन समाजले आग्रह गरेको छ ।

२८ जुलाई २०२५ का दिन वेस्ट ब्रोमविचस्थित The Conference Suite, 10 – 24 Thomas Street, West Bromwich, B70 6LY मा कार्यक्रम आयोजना हुनेछ। दिउँसो ४ बजेदेखि राति ११ बजेसम्म सञ्चालन हुने कार्यक्रममा नेपाल र बेलायतका नेपाली कलाकारको विशेष प्रस्तुति रहनेछ।

गल्कोट समाज यूकेले स्थापना कालदेखि नै सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, विपद् राहत तथा संस्थागत पूर्वाधार निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ। नेपालदेखि बेलायतसम्म समाजले सञ्चालन गरेका विविध कार्यक्रमले नेपाली समुदायलाई एकताबद्ध गर्दै आपसी सहयोग र सद्भावलाई अझ सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको छ।

समारोहमा चर्चित गायिका रचना रिमालका साथमा लोकप्रिय कलाकारहरू जुना श्रीस, देवी घर्ती, बालचन्द्र बराल र सीता परियारले समेत सांगीतिक प्रस्तुति दिने छन् । गल्कोट क्षेत्रको मौलिक संस्कृति झल्काउने नौमती बाजा, बेलायतका चर्चित नेपाली डीजे तथा यहाँका प्रतिभाशाली कलाकारले थप मनोरञ्जन प्रदान गर्ने छन्।

समाजका प्रतिनिधिले बेलायतवासी नेपाली समुदायलाई उक्त सांस्कृतिक कार्यक्रममा सहभागी भई गल्कोट समाज युकेको यो उत्सवलाई भव्य र अविस्मरणीय बनाउन अनुरोध गरेका छन्। गलकोट समाज युकेको महासचिव कृष्ण खरेलले गलकोटे बेलायतमा पनि संगठित रहेको जनाए । उनले बेलायतमा आफ्नै घर किनी गलकोट भवन बनाइएको जानकारी दिए ।