
जनप्रिय बहुमुखी क्याम्पसमा असहज परिस्थितिका कारण स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थगन भएको छ । क्याम्पस प्रमुख कृष्णबाबु बरालद्वारा हस्ताक्षरित अपिलमा त्रिभुवन विश्वविद्यालयको सूचना अनुसार चैत ५ गतेका लागि निर्धारित स्ववियु निर्वाचन हाललाई स्थगन गरिएको जानकारी दिइएको छ ।
निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने गरी केही विद्यार्थी संगठनले क्याम्पसमा तालाबन्दी गरेपछि निर्वाचन सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको हो । निर्वाचन प्रक्रियालाई निर्धारित समयमा अघि बढाउन वार्ता तथा संवादका विभिन्न पहल गरिए पनि अपेक्षित सहमति हुन नसक्दा निर्वाचन स्थगन गर्नुपरेको क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पस प्रमुख कृष्णबाबु बरालले जारी गरेको अपिलमा निर्वाचन प्रक्रिया सहज बनाउन विद्यार्थी संगठन, समुह तथा सरोकारवालासँग खुला संवादका लागि आग्रह गरिएको छ । क्याम्पस प्रशासनले सबै पक्षसँग छलफल गरेर लोकतान्त्रिक अभ्यासको सम्मान गर्दै यथाशीघ्र निर्वाचन सम्पन्न गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।
यसै क्रममा, क्याम्पस प्रशासनले विद्यार्थी संगठनहरूलाई अवरुद्ध गतिविधिहरू रोक्न र निर्वाचन प्रक्रियालाई सहज बनाउन आवश्यक सहयोग गर्न आग्रह गरेको छ । संवादबाट समस्या समाधान खोज्दै विद्यार्थीको हकहित सुरक्षित गर्ने वातावरण निर्माण गर्न सबैलाई सहकार्य गर्न अनुरोध गरिएको छ ।
क्याम्पस प्रशासनले अपिलमा भनेको छ, ‘निर्वाचन एक लोकतान्त्रिक प्रक्रिया हो । विद्यार्थीको अधिकारलाई सुरक्षित गर्न निष्पक्ष वातावरण आवश्यक छ । तसर्थ, अवरुद्ध अवस्था हटाइ निर्वाचन प्रक्रियालाई सहज बनाउन विद्यार्थी संगठनहरू तथा सम्बन्धित सबै पक्षहरूको सक्रिय सहकार्य जरुरी छ ।’
त्रिवि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका तथा थप निर्देशन २०८१ साथै जनप्रिय बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन नियमावली २०७३ अनुसार निर्वाचन प्रक्रिया अगाडि बढाउने क्रममा फागुन २६ गते निर्वाचन समितिको कार्यालय र २८ गते क्याम्पस प्रमुख एवं प्रशासन प्रमुखको कार्यालयमा तालाबन्दी गरेपछि परिस्थिति सहज नभएको कारण देखाउँदै निर्वाचन समितिले राजीनामा दिएको थियो ।
जनप्रिय बहुमुखी क्याम्पस प्रशासनले आगामी दिनमा सहमति जुटाई १५ दिनभित्र पुनः निर्वाचन प्रक्रियाअघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । २ हजार ४ सय ३३ विद्यार्थी मतदाता रहेको क्याम्पसमा वि.सं. २०७३ सालमा स्ववियु निर्वाचन भएको थियो ।